नयाँ विद्यालय शिक्षा ऐनको माग गर्दै जारी शिक्षक आन्दोलन आज २७ औं दिनमा आइपुग्दा अझ सशक्त बनेको छ ।
आन्दोलन झन झन सशक्त बन्दै गएको र माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले बताएका छन्। अध्यक्ष सुवेदीले आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म नथाक्ने बताएका छन्।
सोमबार २७ औं दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले एक महिना हुन लाग्दासम्म शिक्षकहरुक आन्दोलनमा डटिरहेको बताएका हुन्। यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्,गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन्,’ उनले भने। आइतबार राज्य पक्षबाट शिक्षकहरु प्रति भएको दमन पश्चात देशका विभिन्न भागबाट आन्दोलनमा सहभागी हुने शिक्षकहरुको संख्यामा वृद्धि भएको छ ।
नयाँ विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनमा देशभरका विद्यालय अनिश्चितकालीन बन्द गरी २० चैत देखि निरन्तर काठमाण्डौँमा आन्दोलन भइरहको छ ।