चाडपर्व नजिकिएसँगै अहिले विभिन्न संघसंगठनहरूले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न थालेका छन् । यसै क्रममा मकवानपुरका शिक्षकहरूले पनि आ–आफ्नो गुटको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमको सूचना जारी गरेका छन् । सामाजिक सञ्जालहरूमा यस प्रकारका सूचनाहरू छरपस्ट देखिन्छन् ।
नेपाल शिक्षक संङ्घ नामक शिक्षकहरूको संगठनले असोज २७ गते शनिबार चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ भने नेपाल राष्ट्रिय शिक्षक संगठन नामक शिक्षकहरुको अर्काे संगठनले पनि सोही दिन चियापान कार्यक्रम तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
दुबै संगठनले आ–आफ्नो सहकारी संस्था पनि सञ्चालन गरिरहेका छन् । सोही सहकारीको साधारणसभा पनि गर्ने बाहना बनाएर शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।
यी दुई संगठन नेपाली काँग्रेस र नेकपा एमालेसँग निकट संगठनहरू हुन् । यसैगरी नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन पनि जिल्लामा सक्रिय रहेको छ । उसले पनि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ ।
नेपालका शिक्षकहरूलाई राजनीतिक दलहरूले कार्यकर्ता बनाएका छन् । आफ्नो दलको पिछलग्गु बनाएका छन् । र निर्वाचनका लागि होस् वा अन्य प्रयोजनमा प्रयोग गर्ने हतियार बनाएका छन् शिक्षकलाई ।
दलहरूको पछि लाग्नुमा शिक्षकहरू पनि गर्व गर्छन् । उनीहरूको कार्यकर्ता बन्न पाउँदा आफ्नो जागिर सुरक्षित रहेको भ्रम पाल्छन् र पार्टीको कार्यालय धाइरहन पाउँदा अलिकति पनि लज्जा बोध गर्दैन शिक्षक ।
राणाकालीन र पञ्चायती शासनमा मौखिक भरमा नियुक्ति पाएका शिक्षकहरूलाई त्यतिबेलाका मुखिया वा शासकहरूले आफ्नो कामदार ठान्थ्यो । हेपेर र होच्याएर मास्टर शब्द प्रयोग गथ्र्याे र आफ्नो अप्ठ्यारा कामहरू शिक्षकलाई गर्न लगाउँथ्यो । विद्यार्थी पढाउने कामलाई दोस्रो प्राथमिकतामा राखेर पहिलो प्राथमिकतामा शासकको अनुचर बन्नुपथ्र्याे । त्यस्तै अवस्था अहिले पनि राजनीतिक दलहरुले गराउन चाहिरहेका छन् र त्यसमा निर्लज्जतापूर्वक आत्मसमर्पण गरिरहेका छन् नेपालका शिक्षकहरू ।
कोही काँग्रेसको शिक्षक भनेर चिनाउन पाउँदा छाती फुलाएर हिँड्छ । कोही एमालेको शिक्षक भनेर छाती चौडा बनाउँछ त कोही माओवादीको शिक्षक हुँ भन्छ ।
यहाँ देशका शिक्षक नै छैनन् । यहाँ विद्यार्थीका शिक्षक कम र राजनीतिक दलका शिक्षकहरू बढी छन् ।
शिक्षकहरू एक हुनुपर्छ भन्ने आवाज शिक्षकहरू नै उठाउँछन र उनीहरू नै पार्टीको भातृसंस्था खोलेर विभक्त बन्छन् । यस्तो द्वैध चरित्र छ यहाँ शिक्षकहरूमा ।
शिक्षक विभिन्न राजनीतिक दलहरूको भातृसंस्थाका रूपमा रहँदा शिक्षकलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भयो भन्ने टिप्पणीहरू पनि सुनिन्छ ।
वेला वेलामा शिक्षकहरू पनि अब एकजुट हुनुपर्छ भन्छन् । तर हाम्रा शिक्षकहरूलाई राजनीतिक दलको छायाँले यसरी वशीभूत गराएको छ कि उनीहरू दलको छायाँबाट अलिकति पनि टाढा हुनै चाहँदैनन् । गरुडको छायाँमा परेको सर्प जस्तै त्यही दलको वरिपरि लटपटिन्छन् ।
लाग्छ दलको लेप नलगाई त आफ्नो रोजीरोटी नै चल्न सक्दैन । शिक्षकले अहिले समाजबाट हपिनु परेको छ । शिक्षकलाई राज्यले फरक किसिमले व्यवहार गरिरहेको छ । संघीय शिक्षा ऐन शिक्षकहरूको हितमा छैन भनेर शिक्षकहरु नै कुर्लन्छन् । एकजुट भएर विधेयक शिक्षकको हितमा बनाउन दबाब दिनुपर्छ भन्छन् । अहिले संसदमा विचाराधीन अवस्थामा रहेको ऐनमा अहिले सबै गाँठाहरू फुकाउन सकिएन भने नेपालमा शिक्षकहरू कहिल्यै पनि उचित न्याय पाउन सक्दैनन् ।
यस्तो अवस्थामा एकजुट हुनुपर्ने शिक्षकहरूले आफ्नै खुट्टामा बञ्चरो हानिरहेका छन् । यसरी विभिन्न दलको भातृ संस्था बनेको शिक्षकलाई कसले सकारात्मक दृष्टिले हेर्छ ? अब त एउटै शिक्षक संगठन बनाउँदा के फरक पथ्र्याे ? राजनीतिक दलका भातृ संस्था बन्ने र त्यसको कार्यकर्ता नबनेसम्म नेपालका शिक्षकहरूलाई शिक्षक हुँ पनि असहज हुने हो र ? सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा शिक्षकहरूका संघ संगठनलाई पूर्ण रूपले बन्देज लगाइयोस् ।