राजनीतिक दलहरू गतिशील हुनुपर्छ । अझ देशको प्रमुख दलहरू जसप्रति नागरिकको भरोसा छ । जुन पार्टीप्रति नागरिकले अपेक्षा र आशा राखेका छन्, ति दलहरू सुस्ताउनु हुँदैन । निदाउनु हुँदैन । उनीहरू निरन्तर देशप्रति चिन्तनशील हुनुपर्छ । उनीहरू नागरिकप्रति जिम्मेवार बन्नुपर्छ । देशमा आइरहने समस्या समाधान गर्ने हैसियत बोक्नुपर्छ चाहे सरकारमा होस् या नहोस् ।
नेपालमा अहिलेसम्म देखिएका प्रमुख राजनीतिक दलहरू र विशेषगरी सत्ताका वरिपरि भइरहने र नागरिकले पनि अलि विश्वास गरेको दलहरू भनेको नेपाली काँग्रेस नेकपा एमाले, नेकपा माओवादी नै हुन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी पनि देशमा नयाँ शक्तिका रूपमा उदाइ रहेको छ ।
यी दलहरूले नागरिकले उठाएका सवालमा चनाखो बन्नुपर्छ । कुनै वर्ग र पेशामा आवद्धका मागप्रति चासो राख्नुपर्छ । त्यस्तो माग र समस्या समाधानका उपायहरूको खोजी गर्नुपर्छ । देशका कुनै पनि क्षेत्रमा अबरोध उत्पन्न हुन दिनुहुँदैन । सबै क्षेत्रलाई चुस्त दुरुस्त र गतिशील बनाउनका लागि यी दलहरू गम्भीर बन्नैपर्छ ।
पछिल्लो समय नेपालमा शिक्षकहरूले विभिन्न माग राखेर सडकमा उत्रिँदा केही दलहरूले चासो दिए । चिन्ता व्यक्त गरे । समस्याका कारक तत्वहरूका बारेमा बुझ्ने प्रयत्न गरे र समाधानका लागि पहल गर्ने आश्वासन दिए । यसमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरू नै थिए । तर नयाँ उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालगायतका केही दलहरूले शिक्षकका मागलाई नकारात्मक दृष्टिले हेरे । उनीहरूले उल्टै शिक्षकलाई विद्यालय खोल्न दवाव दिए ।
उनीहरूले कुनै पेशामा आवद्ध व्यक्तिले आफ्ना माग राख्नुलाई अपराध गरे सरहका रूपमा लिए । दलहरू जहिले पनि उदार बन्नुपर्छ । समस्याका बारेमा गम्भीर बन्नुपर्छ यदि देशप्रति र नागरिकप्रति जिम्मेवार दल हो भने । यसमा नयाँ उदाएका दलहरूले साँच्चै सङ्कीर्ण सोच राखेको पाइयो ।
अहिले नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ बैठकमा भइरहेका छलफल र बहस सुन्दा लाग्छ अब नेपाली काँग्रेस जाग्न थालेको छ । अब काँग्रेस देशप्रति नागरिकप्रति र अहिलेको अवस्थाप्रति गम्भीर बन्न लागेको छ ।
बैठकमा बोल्ने अधिकाँश नेताहरूले देशका यावत् समस्याका बारेमा आवाज उठाए , चिन्ता व्यक्त गरे । समाधानका उपायसहितको मार्गचित्र बनाउनुपर्ने बताए ।
देशबाट अहिले भइरहेको युवा पलायनका विषयमा केन्द्रीय सदस्यले चासो राखे । गत वर्ष मात्र ९ लाख युवाहरू बाहिरिएको भन्दै उनीहरू यस्तै अवस्था रहे देश एक दिन खाली हुने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरे र युवालाई स्वदेशमै रोक्ने उपाय खोजी गर्नुपर्ने बताए ।
सरकारमा सहभागी भए पनि नेपाली काँग्रेस छायाँमा परेको भन्दै नागरिकले राज्यको अनुभूति गर्न नपाएकोमा चिन्ता व्यक्त गरे । नागरिक अहिले महँगीको चपेटामा परेको, सर्वसाधारण लाई दैनिकी गुजार्न धौ धौ परिरहेको भन्दै त्यसबाट मुक्ति दिनपर्ने बताए ।
विगतमा बैठक नराखेर धेरै आलोचना खेपेका सभापति शेरबहादुर देउवाले अहिले नियमित बैठक राखिरहेका छन् । बैठक मात्र होइन त्यसलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण समेत गरेका छन् ।
बैठकमा बोलेको नेताहरूका कुराहरूबाट अब नेपाली काँग्रेसले गति लिन थालेको महसुस हुन थालेको छ । ऊ अब राष्ट्रप्रति चिन्तन गर्न थालेको भान हुन थालेको छ । नागरिकका समस्याप्रति संवेदनशील छ भन्ने कुराको बोध हुन लागेको छ । कसैले शिक्षकका विषयमा र विधेयकमा गर्नुपर्ने परिवर्तनका विषयमा एकमत हुने कुरा बताए ।
यसरी नियमित रूपमा देश, नागरिक र पेशा र वर्गका समस्याका बारेमा चासो र चिन्ता व्यक्त गर्नु र त्यो पनि प्रत्यक्ष नागरिकसामु पुग्ने गरी गर्नु भनेको गुमाउन लागेको विश्वास फर्काउनु पनि हो ।
अहिले पहिलो भएर पनि सरकारमा निरीह अवस्थामा रहेको नेपाली काँग्रेसले जे जस्ता कुराहरू केन्द्रीय समितिको बैठकमा उठाइरहेको छ त्यसलाई समाधान गर्न ठोस रुपमा कदम चाल्नैपर्छ ।
यता नेकपा एमालेले पनि अहिले प्रदेश अधिवेशन गरिरहेको छ । उसले अधिवेशनसँगै जनजीविकाका सबालमा ठोस योजना बनाउनुपर्छ । प्रतिपक्षमा बसे पनि उसले गर्न सक्ने भूमिका निर्वाह गर्नुपर्छ । अब नेपालका मुख्य दलहरूले विश्वास आर्जन गर्ने हो भने नागरिकलाई राहत हुने योजना ल्याउनुपर्छ । नागरिकले महसुस गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
काँग्रेस केन्द्रीय समिति जसरी देशका सबै विषयमा अवाज उठिरहेको छ यसले ऊ अब गतिशील हुन लागेको हो कि भन्ने महसुस गराएको छ । अहिलेसम्म मस्त निद्रामा रहेको अवस्थाबाट बुउँझिन लागे जस्तो भएको छ ।
जब दलहरू निदाउँछन् तब देश नै निदाउँछ तसर्थ नेपाली काँग्रेसले नियमित केन्द्रीय समिति बैठक राख्नु देशका यावत् समस्याका बारेमा चासो र चिन्ता व्यक्त हुनु पार्टी मात्र गतिशील होइन अब देश पनि गतिशील हुन्छ भन्ने हो । अब देशका यावत् समस्या समाधानका लागि नेपाली काँग्रेसले ठोस योजना ल्याओस् । र गुम्न लागेको नागरिकको विश्वास पुनः प्राप्त गरोस् ।