पेट्रोल अभावको त्रासले पम्पहरुमा भिड

Nigarani Online 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने त्रासका कारण पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड बढेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् ।

ढुवानी ठप्प भएसँगै पेट्रोल अभाव हुने डरले पम्पहरुमा उपभोक्ताको भिड बढेको हो । काठमाडौं उपत्यकासहित देशभरका पम्पहरुमा आज बिहानैबाट उपभोक्ता लाइन बसिरहेका छन् । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरे पनि व्यवसायीले भने ढुवानी ठप्प बनाएका छन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतका विभिन्न माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेका छन् ।

उक्त समस्या समाधान गर्न आयल निगमले छलफल सु्रु गरेको छ । समस्या समाधानका लागि प्रयास जारी रहेको बताउँदै निगमका प्रवक्ता विनितमणि उपाध्यायले आज दिनभरीमा निकास निस्किने बताए । देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न आग्रह गरिएको उनले जानकारी दिए । डिपो खुला राखे नराखेको बारेमा निगमले अनुगमन गरिरहेको उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार