वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्ट्लले केही दिनअघि वाग्मती प्रदेशको राजधानी र नामको विषयलाई लिएर असन्तुष्टि जनाउनुभयो । उहाँले भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
प्रदेशको राजधानी र नाम निर्धारण गर्ने जिम्मा प्रदेश सभाको हो । प्रदेश सभामा जमरकट्टेल दुई दुई पटक सांसद बनिसक्नुभएको छ । पहिलो कार्यकालमा पनि मन्त्री हुनुभएको थियो भने दोस्रो कार्यकालमा मुख्यमन्त्री जस्तो जिम्मेवार पद सम्हालिरहनुभएको छ ।
यसरी आफैँ मन्त्री पदमा बारम्बार पुग्ने, बारम्बार सांसद बन्ने अनि नाम र राजधानी विषयलाई नागरिकका अगाडि पुगेर असन्तुष्टिको स्वाँग रच्ने काम मुख्यमन्त्री जस्तो व्यक्तिलाई सुहाउने विषय हो ?
नेवा– ताम्सालिङ प्रदेश नाम राख्न त्यतिबेला खुट्टा कमाउने अनि अहिले नागरिकका बिचमा भाषण गर्न जाँदा साँचिलो बनी टोपल्ने यही हो जिम्मेवार व्यक्तिले गर्ने व्यवहार ? यो त गाउँघरमा यता कुरा उता र उताको यता लगाएर आफू साँचिलो बन्ने खुराफातीको जस्तो व्यवहार भएन र ?
त्यति बेला आफ्नो बहुमत थिएन भने पनि त तपाइँहरूले नामका विषयमा असन्तुष्टि जनाउन सक्नुहुन्थ्यो होला । प्रदेशको राधानीका विषयमा फरक मत राख्न सक्नुहुन्थ्यो होला । तर त्यतिबेला सरकार टिकाइराख्नका लागि, आफू मन्त्री पदको वरिपरि भुनभुनाइरहन समर्थन गर्ने, परर ताली पिटेर पास गराउने अनि अहिले गोहीको आँसु झारेर कसलाई देखाउन खोज्नुभएको ?
तपाइँहरूले त सशस्त्र द्वन्द्वकै समयमा नेवा–ताम्सालिङ नामकरण गरिसक्नुभएको यस प्रदेशको नाममा किन अडान लिन सक्नु भएन र अहिले अर्थहीन भाषण गरेर नागरिक भड्काउने काम गर्नुहुन्छ ?
हो वाग्मती प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्यता छ । पहिचानको लडाइँ लड्नुभएका तपाइँहरूले नेवार तामाङ समुदायको पहिचानलाई स्वीकारेर नेवा–ताम्सालिङ प्रदेश नामकरण गर्नसक्नुपथ्र्याे । आखिर गणतन्त्रको मतियार त तपाइँहरू आफैँलाई ठान्न्ुहुन्छ क्यारे । आफ्नै पहलमा आएको गणतन्त्रमा तपाइँहरू आफूले गर्न नसकेको कामको अपसजस अन्य दललाई दिनु सुहाउने कुरा हो ? हुन त हाम्रो बहुमत थिएन भन्नुहोला । बहुमत ल्याउने अवस्था चाहिँ किन बनाउन नसक्नु भएको नि ? नागरिकले किन विश्वास गर्न छाड्दैछन् कहिल्यै एकान्तमा घोत्लिनुभएको छ ?
हेटौँडा राजधानीको विषयलाई लिएर किन फेरि अनावश्यकको विवाद झिक्न खोज्दै हुनुहुन्छ ? हेटौँडा राजधानी भइरहँदा हुने बेफाइदाहरू के के हुन् ? धुलिखेल त आफैँ पनि संघीय राजधानीको नजिकै छ । यो आफैँमा पर्यटकीय क्षेत्र हो ? यहाँका नचाहे पनि विकास आफ्नै गतिमा अगाडि बढ्छ । तर हेटौँडामा विकास त्यो गतिमा हुन सक्दैन । यो न धुलिखेल जस्तो पर्यटकीय क्षेत्र हो न संघीय राजधानीको छत्रछायाँमा नै छ । कि हेटौँडा विकसित हुन नहुने हो ? कि समाजमा शान्ति भएको तपाइँहरूलाई मन पर्दैन ?
हेटौँडा पुग्न र धुलिखेल पुग्न सिन्धुपाल्चोक, र काभ्रेका नागरिकलाई बाहेक अन्यलाई उस्तै हो । अनि के विकास केन्द्रमा मात्र भइरहनुपर्ने हो मुख्यमन्त्रीज्यू ? आज हेटौँडा सबैतिरबाट ओझेलमा छ । राष्ट्रिय राजमार्ग बिस्तारको कुरा यहीँ आएर अल्झिरहेको छ । भएका उद्योगधन्दा बन्द हुन थालेका छन् । भनेजस्तो अस्पताल छैन । उच्च शिक्षा र प्राविधिक शिक्षा हासिल गर्ने संस्थाहरू छैनन् । यस्तो अवस्थामा हेटौँडा जस्तो स्थानलाई राजधानी बनाएर यी कुराहरूको विकासमा लाग्दा मुख्यमन्त्रीलाईकिन टाउको दुख्छ ? यही हेटौँडामा बसेर मुख्यमन्त्रीको पद सम्हालिरहँदा हेटौँडाको विकासका बारेमा बोल्नु न मुख्यमन्त्रीज्यू । देश केन्द्रीकृत भयो भनेर नै संघीयता ल्याएको हैन र ? फेरि प्रदेश राजधानी पनि संघीय राजधानीकै नजिक किन चाहिएको नि ? संघीय राजधानीमा आलिसान सरकारी क्वार्टर त बनाइसक्नुभएको छ होइन र ?
देशका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले समाजमा मेलमिलापको वातावरण बनाउन सक्नपर्छ । देशलाई अग्रगतितर्फ लैजाने कुराहरूको बहस गर्नुपर्छ । समृद्धिका लागि योजना बनाउने कामतर्फ सधैँ चिन्तनशील हुनुपर्छ । भेटघाट, चियापान, सभासमारोह जहाँ पुग्दा पनि देशका बारेमा चिन्तन पो हुनुपर्ने हो ।
जुन ठाउँमा पुग्यो त्यहाँका नागरिकको आवश्यकता, त्यहाँको भौगोलिक अवस्था, त्यस स्थानका मानिसका आर्थिक अवस्था, अब ति ठाउँहरूमा गर्नुपर्ने कामहरू, त्यस स्थानमा हुन सक्ने उत्पादनमूलक क्षेत्रहरूको बारेमा पो अध्ययन हुनुपर्ने हो । तत्तत् स्थानका विशेष व्यक्तिहरू बुद्धिजीवीहरूसँग परामर्श गरी त्यस स्थानको उत्थानका योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने कुराहरू क्रमिक रूपमा जुटाइदिने कामहरू पाे गर्नुपर्छ । हाम्रा मुख्मन्त्रीहरुमा यस्ताे चेतना किन नआएकाे ?
तर आफ्ना आसेपासे कार्यकर्ताको निमन्त्रणामा कार्यक्रमहरुमा भाग लिने हाम्रा नेता र मुख्मन्त्रीहरूबाट यस्तो कुरा आशा गर्नु पनि हाम्रो मुर्खता नै हुने रहेछ । यहाँ प्रदेशको मुख्यमन्त्री नै छैन । यहाँ छ त केवल कार्यकर्ताका मुख्यमन्त्री छन्, आसेपासेका मन्त्रीहरू छन् । ठेकेदारका दलाल र बिचौलियाका मन्त्री भएका देशमा विकास गर्ने मुख्यमन्त्री र नेता खोज्नु सर्वसाधारणको मुख्यमन्त्री र मन्त्री भट्टाउनु त आकाशको फल आँखा तरी मर् भने जस्तै रहेछ ।
हाम्रा मन्त्री, मुख्यमन्त्रीहरू अझै पनि अपरिपक्व व्यवहार प्रदर्शन गर्छन् । मानिसका मनोविज्ञान बिथोल्ने भाषण गर्नुलाई राम्रो भाषण मान्ने नेताहरूको मनोदशा छ । मानिसमा देशप्रेमको भाव जगाउने, कर्मशील बन्ने, उद्यममा लागिपर्ने किसिमका अभिव्यक्तिहरू दिनुलाई उनीहरूले आफ्नो दायित्व नै ठानेका छैनन् ।
यहाँ मुख्यमन्त्री र मन्त्रीलाई फुर्सद नै धेरै भयो । खालि सभासमारोहको उद्घाटन, गोष्ठी, सेमिनार, भाषण यस्तै हो हाम्रो देशका मन्त्री र मुख्यमन्त्रीहरूका काम ?
अनि त्यहाँ गरिएका भाषणले देशमा केही उलटपुलट आउने मानसिकताको बिजारोपण युवा वर्गमा गर्ने भए पनि ठिकै मान्नुहुन्थ्यो । उल्टै निराशाका भाषण, वान्ता गर्दा आउने दुर्गन्धित पदार्थ जस्तो मन्तव्य । यस्ता मन्तव्य जुन सुनेपछि जुनसुकै वर्गका मानिसमा पनि दिगमिग लागेर आउने र पिच्च थुक्दै हिँड्नुपर्ने अवस्था सिर्जना गरिदिन्छ । हाम्रा देशका जिम्मेवार नेताहरूबाट के कुराको अपेक्षा गर्ने ? अनि ति भाषण सुनेपछि कार्यकर्ताहरू बुर्लुक्क बुर्लुक्क उफ्रन्छन् । भाषणले त समारात्मक ऊर्जा दिनुपर्नेमा युवाहरूलाई विदेशको सपना देख्न बाध्य पारिदिन्छ । पढेका शिक्षित वर्गलाई मन नै अमिलो बनाइदिन्छ । मानिसका मनो विज्ञानलाई अन्योलता र अस्थिरतामा राखिराख्न हाम्रा देशका जिम्मेवार नेताहरू नै तल्लीन छन् भन्ने कुराको उदाहरण हो यो ।
मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिले भाषणमा व्यक्त गरेका गरेका कुराले समाजमा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने कुरातर्फ अलिकति पनि सचेत बनेको पाइँदैन ।
वाग्मती प्रदेशसभाले प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती प्रदेश रहने कुरा पारित गरिसेकेको ४ वर्ष हुन लागिसकेको छ । अब यही कुरालाई उचालेर हिँड्ने मुख्यमन्त्रीले के साँच्चै प्रदेश बनाउँछन त ?
प्रदेश त राजनीति गर्नेलाई चारो छर्न पो निर्माण गरिएको रहेछ । पहिले जनता आफ्नो पक्षमा पार्न मिठा एजेन्डाहरू राखिए । अब ती एजेन्डाहरू घाँडा भए ।