मकवानपुर जिल्लामा पछिल्ला दिनहरूमा भौतिक विकासका कामहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन् । सडक, पुल, अस्पताल, विद्यालय भवनहरूलगायत भौतिक वस्तुहरूको विकासका कामहरू भइरहेका छन् । यसैक्रममा मकवानपुरको चुनिया–नामटार–कालिकाटार सडक आयोजना ५ करोड लागतमा निर्माण हुन लागेको छ । चालु आर्थिक वर्षमा यो सडक निर्माण हुन लागेको हो ।
वर्षायाम लागेपछि जताततै समस्या भोग्दै आएका मकवानपुरको कैलाश गाउँपालिकाका नागरिकलाई आवतजावत सहज बनाउनका लागि यो आयोजना निर्माण गर्न लागिएको बताइएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय चितवनले सडक निर्माण गर्न लागेको छ । नामटारको चुनियादेखि कालिकाटारसम्म हिउँदयाममा राम्रोसँग कच्ची बाटोबाट सञ्चालन भइरहे पनि बर्षा याममा बाढी र पहिरोका कारण यहाँका नागरिकले सास्ती बेहोर्नु परेको छ ।
अब भने यो समस्या समाधान गर्नका लागि ५ करोड रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।