घण्टाघर हेटौँडाको आवश्यकता हो र महोदय !

Nigarani Online 318+ समाचार ( )
ज्योति न्यौपाने
६ अशोज २०८०, शनिबार

के हेटौँडामा अहिलेको आवश्यकता घण्टाघर हो ? के अहिले युवाहरू घण्टाघर हेर्न नपाएर विदेश धाइरहेका हुन् ? के अहिले हेटौँडा सहर घण्टाघर नबनेकाले विकसित हुन नसकेको हो ? कि घण्टाघर नै नभएकाले यहाँ पर्यटक नआएका हुन् ? हेटौँडामा घण्टाघर बन्ने भन्ने विषय अहिले चर्चामा आएपछि उब्जाएका प्रश्नहरू हुन् यी । 

हेटौँडामा घण्टाघर बन्ने विषय अहिले चर्चामा छ । यसले बजार गर्माएको छ । समाजिक सञ्जाल जागेको छ । ‘हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा लामाले हेटौँडा बसपार्कको पारिजात रेस्ट गार्डेनमा घण्टाघर निर्माण गर्न लागिएको हुँदा सल्लाह सुझावका लागि अनुरोध गर्दछु ।’ भनेर समाजिक सञ्जालमा लेख्नु भएको छ । 

हो भौतिक संरचना विकासको एउटा पक्ष हो । भौतिक संरचनाहरू बन्नुपर्छ । सहरको सौन्दर्य जगाउने विभिन्न कुराहरू निर्माण हुनुपर्छ । सहरलाई चिनाउने संरचनाहरू हुन आवश्यक पनि छ । यसका लागि जनप्रतिनिधिहरूले पहल गर्नु अस्वाभाविक होइन । जनप्रतिनिधिहरू आफ्ना स्थानमा केकस्ता काम गर्ने भनेर सधैँ चिन्तनशील हुनुपर्छ । आफ्नो ठाउँलाई अन्य स्थानभन्दा राम्रो बनाउँछु भनेर प्रतिस्पर्धा गर्नुपर्छ । यही त हो नि संघीयताको सुन्दर पक्ष । 

तर जनप्रतिनिधिले यस्ता कुराको प्रतिस्पर्धा चाहिँ गर्नुहुन्न जुन कुराको कुनै अर्थ राख्दैन । सबै सहरका बिच भागमा घण्टाघर बनेका छन् हेटौँडामा पनि बन्नुपर्छ भन्नु समयको माग हो ? यो कतिको समयसापेक्ष छ ?

वीरशमशेरले काठमाडौँमा बनाएको घण्टाघरले १९५१ सालदेखि समयको सूचना दिन थाल्यो । वीरशमशेरले यसलाई ठुलो कामका रूपमा लिए । के अहिलेका वडाका अध्यक्षहरू पनि वीरशमशेरकै बाटोमा हिँड्नुपर्ने हो र ?  ? वीरशमशेरकै बाटो पछ्याउने कि गणतान्त्रिक पदचाप पहिल्याउने ?   

घण्टाघर नभएरै हेटौँडा सुन्दर नभएको त होइन होला । घण्टाघर नै नभएर बसपार्क वरिपरि मानिसको चहलपहल नबढेको पनि होइन होला ? अनि हेटौँडालाई मानिसले नचिनेको पनि त घण्टघर नभएर होइन होला नि । 

हामी घण्टारघरका तड्पिएका छौँ कि रोजगारीका लागि ? हामी घण्टाघर नभएर निसास्सिइरहेका छौँ कि सडक विस्तार नभएर ? हामी घण्टाघर नबनेर राम्रो स्वास्थ्य सेवा नपाइरहेका हौँ कि राम्रो अस्पताल नभएर ? हामीले घण्टाघर नभएकाले यहाँ चिकित्सा, इन्जिनियरिङ शिक्षा नपाएका हौँ ? यहाँ घण्टाघर नबनेकाले युवाहरू विदेश गइरहेका हुन् ? घण्टाघर नबनेकाले हामीले परनिर्भर भएका हौँ कि उत्पादनका लागि यहाँका मानिसलाई प्रोत्साहन नगरेर ? जनप्रतिनिधिले यस विषयमा एक पटक गम्भीर बन्नुपर्दैन ?  

हिजोका मानिस र आजका मानिसका आवश्यकता र चाहना धेरै फरक भइसकेका छन् । हिजो मानिसहरू ठुलो टावरमा चढ्दा रमाउँथे । घण्टाघरहरू हेरेर दङ्ग पर्थे । सडकमा गाडी गुडेको देखर गदगद हुन्थे । आजका मानिस मानिसहरूलाई यी कुराले कति प्रभाव पार्दैन । 

आजका मानिस खोलाका किनारमा रमाउँछन् । आजका मानिस झरनामा पानीसँग पौँठाजारी खेल्दा रमाउँछन् । पहाडको अग्लो भागमा चढ्न पाउँदा खुसीले गदगद हुन्छन् । कति फरक भइसकेका छन् मानिसको चाहनाहरू । आजका मानिस भौतिक संरचनासँग दिक्क भइसकेका छन् । नगरपालिकाले बनाउने टावर र घण्टाघरभन्दा अग्ला त मानिसले आफ्ना घर बनाइसकेका छन् । 

घण्टाघरभन्दा त मनकामना डाँडामा गएर हेटौँडा हेर्न सहज बनाइदिऔँ न । भैरवडाडाँमा मनिसको भीड लाग्ने अवस्था सिर्जना गरिदिऔँ न ।  हिजोका मानिसलाई समयको सूचना दिन यसको प्रयोग गरिन्थ्यो । आज मानिस आफ्नै हातमा बाँधेको घडी त नहेरेर मोबाइल हेर्छ भने घण्टाघरको के अर्थ ? 

अहिले मानिसलाई स्वदेशमै रोजगार चाएिको छ  । यहीँ बसेर पैसा कमाउने अवसर चाहिएको छ । विदेशमा गएर परिवारको बिचल्ली होइन परिवारसँग बसेर स्वदेशमै रमाउने चाहना छ । पढ्नका लागि विदेश जानु नपरोस् भन्ने आजका मानिसको चाहना छ ।  आफू खट्न चाहन्छ र खटाइअनुसारको पारिश्रमिक चाहन्छ । यही कुराका लागि लगानी गरौँ न । मानिसलाई गफ गरेर बस्ने फुर्सद नदिने गरी कामका अवसर सिर्जना गरिदिऔँ न । यसो गर्दा बिग्रन्छ महोदय ! हाम्रा जनप्रतिनिधिहरूलाई लाग्दो हो मेरो वशको विषयमा होइन यो । मैले गरेर मात्र यस्ता कुरा सम्भव छैन । वीपीले भन्नुभएको छ , ‘मन्त्री भएर गरेका ठुला ठुला गफभन्दा ससाना रचनात्मक कार्य धेरै उत्कृष्ट हुने छन् ।’ हामी गफ मात्र ठुला गर्ने कि सानासाना काम गरेर देशको समृद्धिमा ध्यान दिने ?  संघले त देश नै देख्दैन । देश देख्ने नागरिकका पीडा महसुस गर्ने भने स्थानीय तहहरूले नै हो । त्यसैले त स्थानीय निकायले गरेका साना कामको धेरै ठुलो महत्व हुन्छ । संघीय सरकारले बनाएका पञ्चवर्षीय योजनाभन्दा पालिकाले बनाएको बाटोको ठुलो महत्व छ । 

संघीय सरकारले रोजगारीका लागि बनाएका खाकाभन्दा पालिकाले किसानलाई दिने सहुलियत र खोल्ने साना उद्योगको हजारौँ गुना ठुलो मूल्य छ । ससाना विकासका कामहरू सबै पालिकाले गर्दै जाने हो भने परिवर्तन यही पुस्तामा सम्भव छ । 

आफू ताक्छ मुढो बञ्चरो ताक्छ घुँडो भनेझैँ मानिसले खोजिरहेको कुरा एउटा छ जनप्रतिनिधिहरुको सोचाइ अर्काे छ । यहाँ जनप्रतिनिधिहरूले नागरिकको मर्म बुझ्न सकेनन् कि बुझेर पनि बुझ पचाएका हुन् ? यहाँ जनप्रतिनिधिहरुले २०४६÷४७ सालको मानिसको सोचभन्दा अघि बढ्नै सकेनन् । 

घण्टाघर बनाउने पैसाले उद्यम सञ्चालन गर्दा हुँदैन र ? घण्टाघर बनाउने पैसाले कृषिमा क्रान्ति ल्याउन सकिँदैन र ? किसान मल बिउ र बजार नपाएर रोइरहेका छन् यता घण्टाघरको बाँझो सपना देखाएर नागरिकलाई विदेश नै लखेट्ने प्रपञ्च रचिँदै छ । बसपार्क बन्न लागेको बस टर्मिनल चाँडे पूरा गराउनु पहल गरौँ । त्यहाँ बनेको ठेकीको प्रतिमालाई पहिचान दिने काम गरौँ । बसपार्कलाइृ आकषृक नाउने काम गरौँ न किन चाहियो घण्टार घर नै यो परम्परावादी सोच होइन र ? 

त्यसैले हेटौँडामा घण्टाघरको आवश्यकता हो कि हैन एक पटक सोचौँ है महोदय ! 


प्रतिक्रिया

laxmi kadel chaulagain. १४ अशोज २०८०, आइतबार

आँखा भए सबै प्रस्ट पार्नु भएकाे छ ।ाआँखा भने भित्रि हुनुपर्छ ,याे लेख बुझनलाइ यति जनप्रतिनिधिहरुमा हामी भन्ने भएकाे भए हामीसबैकाे कल्याण हुने काम हुन्थ्यो ।म भन्ने र प्रतिस्पर्धा धेरै भएर हाे ।

Sharad Shrestha १० अशोज २०८०, बुधवार

कति सहि सुजाव हजुरकाे, कुनै पनि बिकासकाे काम गर्दा बर्तमान र भबिष्यकाे खाँचाे पूरा गर्ने हुनु बेस, राेजगारी प्रदान गर्ने, उत्पादन मुखि हुनु बेस,

कमल ६ अशोज २०८०, शनिबार

समय अनुसारकाे आवश्यकतालाई पहििचान गरेर अगाडि बढ्नुपर्छ ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार