विचार
व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक

Nigarani Online 318+ समाचार ( )
ज्योति न्यौपाने
२१ अशोज २०८०, आइतबार

समयले मानिसलाई नम्रतापूर्वक अघि बढ्न आग्रह गरिरहेको छ । बदलिँदो मानवीय सोच, विश्व परिवेशले मानिसको सोचमा परिवर्तन ल्याएको छ । आज हरेकले आफू र अर्काेबिच भिन्नता नदेख्न अनुनय गरिरहेको छ । मानिसको सोचमा आएको परिवर्तनका कारण अब व्यवहारलाई कठोर होइन सबैको प्रिय बनाएर हरेक समस्या समाधान गर्नुपर्ने कुरा सिकाइरहेको छ । 

अन्तर्राष्ट्रिय रूपमा बनेका कानुन नियम तथा मानवअधिकार सम्बन्धी अवधारणाले पनि कसैलाई निरङ्कुश बन्ने छुट दिएको छैन । हरेक कुरामा आदेश र निर्देशन होइन, सहजीकरणमा समस्याका समाधान गर्नुपर्छ भन्ने आशय व्यक्त गरेको छ । 

आज यी नै कुरालाई मध्यनजर गर्दै हरेक राष्ट्रले कानुन निर्माण गर्दै छन् । अहिलेको विश्व परिवेशमा राष्ट्र कुनै व्यक्तिको निर्देशनमा मात्र चल्दैन । कुनै संघसंस्था कसैको शासकीय दम्भले अग्रगति लिन सक्दैन । हाम्रा नेताहरूले भने जस्तै सहमति र सहकार्यबाट हरेक समस्यालाई सहज ढङ्गले पार लगाउन सकिन्छ । 

विद्यालय पनि एउटा यस्तै क्षेत्र हो जो कसैले निर्देशन, आदेश र हुँकारले चल्दैन । अहिले कतिपय स्थानीय तहका विद्यालयमा यस्ता विकृति देखापर्न थालेका छन् । यो दुर्भाग्यपूर्ण कुरा हो । 

अहिले नेपालको विद्यालय शिक्षालाई संविधानले नै स्थानीय तहको अधिकारको क्षेत्रमा राखेको छ । नयाँ बन्न लागेको शिक्षा ऐनमा पनि विद्यालय शिक्षालाई स्थानीय तहलाई नै सुम्पने गरी तयार भएको छ । देशको मूल कानुनले जे भनेको छ, देशमा बन्ने अन्य कानुनले त्यो कुरालाई आत्मसात गर्नैपर्छ र शिक्षा विधेयकले पनि यो कुरालाई शिरोपर गरेको छ । 

हो, विद्यालय समाजमा चल्छ । यो समाजको एक हिस्सा हो । विद्यालय एक समाज पनि हो । समाजमा जे हुन्छ त्यसको दर्पण विद्यालयमा देखापर्छ । विद्यालयमा जे हुन्छ, जे सिकाइन्छ त्यसको प्रतिबिम्ब समाजमा सलबलाउँछ ।  

विद्यालय संघीय सरकारको छायाँबाट धेरै टाढा हुन्छ । यसको रेखदेख, अनुगमन र सहजीकरण गर्ने काम संघीय सरकारले गर्न सक्दैन । जति स्थानीयले विद्यालयलाई नजिकबाट नियालिरहेको हुन्छ, त्यति कसैले पनि नियालेको हुँदैन । जति त्यो समाजले विद्यालय बुझेको हुन्छ त्यति कुनै प्रदेश सरकार र संघीय सकारले बुझ्न सक्दैन । त्यसैले त संविधाले नै यो कुराको परिकल्पना गरेको हो । शिक्षा ऐनले विद्यालय तहको शिक्षा स्थानीय तहको अधिकारको क्षेत्रभित्र राखेको हो । 

शिक्षा विधेयकले शिक्षाका सम्बन्धमा नयाँ अवधारणा त ल्याउनैपर्छ र शिक्षकका विषयलाई पनि यसले नजरअन्दाज गर्न पाउँदैन । यसका कमीकमजोरी धेरै छन् । यसको छुट्टै चर्चा गर्नुपर्ने हुन्छ । तर यहाँ योभन्दा केही फरक विषयमा चर्चा गर्न मन लागेको छ । 

स्थानीय तहले र समाजले विद्यालयको रेखदेख र अनुगमन गर्नुपर्छ । विद्यालयका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्छ । कमीकमजोरी सुधार्न सहयोग गर्नुपर्छ । विद्यालय प्रशासनका कमीकमजोरी होउन् वा शिक्षकका यस्ता कमीकमजोरी तत्काल परामर्शका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन लागि पर्नुपर्छ । आदेश दिएर होइन । 

त्यति मात्र होइन, जघन्य किसिमका गल्ति भएमा कारबाहीका लागि सिफारिस पनि गर्नुपर्छ । यसैका लागि त विद्यालय व्यवस्थापन समितिको अवधारणा ल्याइएको हो । यसैका लागि त शिक्षक अभिभावक संघको परिकल्पना गरिएको हो । 

जुन विद्यालयमा व्यवस्थापन समिति सक्रिय हुन्छ, विद्यालय प्रशासन र शिक्षकप्रति सकारात्मक हुन्छ, शिक्षकका हरेक सकारात्मक काममा साथ दिन्छ, त्यस्ता विद्यालय निश्चय नै नमुना विद्यालय बन्छन् । विद्यार्थीको नतिजामा सकारात्मक परिवर्तन आउँछ नै आउँछ र आइरहेको पनि छ ।  

यसमा शिक्षक अभिभावक संघको भूमिका पनि कम्ता महत्वपूर्ण हुँदैन । उसले त अभिभावक र शिक्षकको सेतुको काम गर्नुपर्छ । अभिभावक र शिक्षकलाई बारम्बार भेट गराउने वातावरण बनाइदिनुपर्छ । 

विद्यालय न शिक्षकको एकोहारोपनले चल्ने संस्था हो न व्यवस्थापन समिति, न अभिभावक संघ न स्थानीय तहको नै एकोहोरो आदेशमा चल्ने संस्था हो ।  

यो त सबैको सहकार्यमा चल्ने संस्था हो । यो उद्योगमा सामग्री उत्पादन गरे जस्तो होइन । उद्योगले त तत्काल वस्तु उत्पादन गर्छ । त्यसको गुणस्तीयताबारे तुरुन्त बजारले महसुस गर्छ । तर विद्यालय मानवीय संस्था हो । मानवसँग संवेदना हुन्छ । भावना हुन्छ । यसले त भावना र संवेदनालाई ख्याल गरेर काम गर्नुपर्छ । यो त गुणस्तरीय मानवस्रोत उत्पादन गर्ने संस्था पो हो त । उद्योग कसैको लिँडेढिपीमा चल्न सक्ला । कसैको दबाबले उत्पादनको आधिक्यता वृद्धि गर्ला । तर विद्यालय त्यस्तो उद्योग होइन जसले आजको भोलि समान उत्पादन गरेर बजारमा पु¥याओस् । यसका लागि त वर्षाँैको मिहिनेत चाहिन्छ । वर्षाैको तपस्या चाहिन्छ । 

यसमा कसैले शिक्षकलाई आदेश दिएर काममा लगाउँछु भन्ने ठान्छ भने त्यसले नतिजालाई झनै गिराउँछ । स्थानीय तह, अभिभावक संघ आदिले हुकुम दिएर शिक्षक सिर्जनशील हुनै सक्दैन । शिक्षक कुनै कारखानामा सामान उत्पादन गर्ने मजदुर जस्ता होइनन् । शिक्षक त दिनप्रतिदिन सिर्जनशील हुनुपर्छ । शिक्षणका नयाँ तौरतरिकाको खोजी गरिरहनुपर्छ । खाली समयमा पढाउने नयाँ विधि र सामग्रीका बारेमा खोजी गरिरहनुपर्छ । 

यो पेशा त मानवले मानवलाई उच्च मानव बनाउने एउटा कर्म हो । यो पवित्र कर्म हो । यो महान कर्म हो । सत्यम् शिवम् सुन्दरम् दिशातर्फ अग्रसर गराउने कर्म हो । 

यस्तो पेशालाई जब तुच्छ रूपमा लिने दुस्प्रयास हुन्छ तब विद्यालयले उच्च मानव निर्माण गर्न सक्दैन । शिक्षक पेशालाई महान कर्मका रूपमा शिक्षकले लिएर हुँदैन  यो समाजले महसुस गर्नुपर्छ । तर समाजको प्रतिनिधित्व गर्ने शिक्षक अभिभावक संघले नै शिक्षकलाई कारखानाको मजदुरका रूपमा व्यवहार गर्छ भने नतिजा गुणस्तरहीन समान नै उत्पादन हुने हो । 

 शिक्षक खोजमूलक हुनुपर्छ । नयाँ प्रविधिसँग परिचित हुनुपर्छ । पाठ्यक्रम, पाठ्यवस्तुसँग सधैँ परिचित हुनैपर्छ । नयाँ कुराहरुसँग अद्यावधिक हुनैपर्छ । 

शिक्षकलाई यस्ता काममा व्यवस्थापन समिति र शिक्षक अभिभाव संघले सहजीकरण गरिदिने हो । यस्ता काममा लागेर शिक्षण सिकाइलाई विश्वपरिवेशयुक्त बनाउन सहयोग गर्ने हो । न कि यो काम गर् त्यो काम गर् । ढोका बन्द गरेर पढा । बत्ती निभाएर कक्षाकोठाबाट बहिर निस्की । अभिभावक संघको बैठक बोला भनेर आदेश दिने हो । 

यस्तै सबै काम शिक्षकले गर्ने हो भने सिर्जनशील हुने कहिले ? पढाउने कुराको खोजी गर्ने कहिले ? विद्यार्थीका बारेमा चिन्तन गर्ने कतिखेर ? 

व्यवस्थापन समितिले त शिक्षकलाई अद्यावधिक बनाउन समयसमयमा तालिम गोष्ठी सेमिनारको व्यवस्था गरिदिनुपर्छ । विद्यालयको भौतिक पाटोमा त व्यवस्थापन समिति सधैँ जागरुक हुनैपर्छ नै । 

अनि शिक्षक अभिभावक संघको त अझ गहन जिम्मेवारी हुन्छ । अभिभावकसँग बारम्बार छलफल गर्ने, विद्यार्थीको सिकाइका बारेमा बहस छलफल गर्ने वातावरण बनाउने काम अभिभावक संघले गर्नुपर्छ । 

स्थानीय तहले अनुगमन गरी सुधारका लागि आवश्यक सहजीकरण गरिदिनुपर्छ । यसरी सबै पक्ष मिलेमा मात्र विद्यालय वास्तवमा विद्यालय जस्तो बन्छ । हाम्रा विद्यालयप्रति लाग्ने गरेको आरोपको धब्बा विस्तारै मेटिँदै जान्छ । सार्वजनिक विद्यालयप्रतिको नकारात्मक हेराइ कम हुँदै जान्छ । 

यहाँ एउटा पक्षले मात्र अहम्ता प्रदर्शन ग¥यो भने विद्यालयको शैक्षिक वातावरण खलबलिन्छ । शिक्षकले हामी सरकारी नियुक्ति लिएर आएका हौँ । व्यवस्थापन समिति र अभिभाक संघसँग हाम्रो सरोकार छैन भन्ने घमण्ड राख्नु आफैँले नुहाइरहेको पानी दूषित बनाउनु जस्तै हो । 

अनि व्यवस्थपन समितिले प्रशासनिक दम्भ देखाउने, स्थानीय रवाफ प्रस्तुत गर्ने र शिक्षकलाई अमर्यादित दृष्टिकोण राख्ने काम ग¥यो भने त्यसले विद्यालयको जग नै धरमराउन थाल्छ । त्यति मात्र होइन अभिभावक संघले विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिने, शिक्षकका बारेमा अनर्गल टीकाटिप्पणी गर्ने होे भने विद्यालय शिक्षा छानो बिनाको घर जस्तो बन्छ । 

यो त सबैको साझा संस्था हो । यहाँ न प्रधानाध्यापकले कठोर शासक बनेर समस्या हल हुन्छन् न व्यवस्थापन समितिले नै । यसले झन् समस्या निम्त्याउँछ । अझ शिक्षक अभिभावक संघलाई त प्रशासक बन्ने अधिकार शिक्षा ऐन र नियमावलीले नै दिएको छैन । 

फलानो शिक्षकले पढाएको भएन । फलानो शिक्षक हटाइहाल्नुप¥यो । शिक्षकले पढाउँदा झयाल ढोका लागेको थियो । जस्ता अत्यन्तै तुच्छ कुरा शिक्षक तथा प्रधानाध्यापकलाई मानसिक तनाब दिने काम अभिभावक संघ जस्तो समितिले गर्न थाल्यो भने यसले विद्यालयको शैक्षिक वातावरण धमिलिन थाल्छ । 

शिक्षक अभिभावक संघ पवित्र भावनाले परिकल्पना गरिएको संस्था हो । यस संघमा रहेनेले उच्च भावना राख्नुपर्छ । महान् सोच राख्नुपर्छ । उदार बन्न सक्नुपर्छ । शिक्षक र अभिभावलाई भेट गराउने वातावरण बनाइदिनुपर्छ । देखेका काम आफैँ पनि गर्ने हैसियत राख्नुपर्छ न कि शिक्षक र प्रशासकलाई आदेश दिने । 

अनि शिक्षा ऐन र नियमावली दिएको अधिकारको अध्ययन गर्नुपर्छ । शिक्षा नियमावलीमा शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकारमा विद्यालयमा शिक्षकको गुणस्तर कायम गर्नको लागि आवश्यक काम गर्ने,

विद्यालयले सरकारको नियमानुसार शुल्क निर्धारण गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने तथा विद्यालयको शैक्षिक गतिविधिबारे नियमित जानकारी राख्ने तथा सो सम्बन्धमा अन्र्तक्रिया गर्ने जस्ता कुराहरु तोकेको छ । 

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकबिच सोहाद्रपूर्ण वातावरणको सिर्जना हुनैपर्छ । यसका लागि सबैले सबैको अस्तित्व स्वीकार्नुपर्छ । सबैले एकअर्काको अभिन्न पक्ष हौँ भन्ने कुरालाई मनमा राख्नुपर्छ । सबै पक्षले एकले अर्कालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनै पर्छ । विद्यालय समाजलाई चाहिएको हो । यही समाजमा बस्ने मानिसलाई चाहिएको हो त्यसैले यसलाई महान् संस्था बनाउनु छ । यसबाट युग हाक्न सक्ने शक्ति उत्पादन गर्नु छ । यो काम त सबै मिलेमा पो सम्भव हुन्छ त । 

यहाँ शिक्षकलाई अभिभावक संघ र व्यवस्थापन समितिले हेयको दृष्टिले हेर्ने । शिक्षकले अभिभाव संघ र समितिका पदाधिकारीको व्यवहार मन नपराउने अवस्थाले विद्यालय ध्वस्त हुँदै जान्छ । 

हिजोका विद्यालय नपढाएर बदनाम थिए भने आज एकले अर्कालाई देख्न नसक्ने अवस्थाले बदनाम हुने अवस्था नआओस् । 

कसैले आदेश दिएर होइन, सहजीकरण गरेर समस्याको समाधान गर्ने वातावरण बनोस् । विद्यालयमा कोही निरीक्षक बनेर होइन सहजकर्ता बनेर शिक्षकलाई शिक्षण सिकाइमा सहयोग पु¥योहास् । नयाँ युगका मान्छेले पुरानो सोच होइन नयाँ सोचको विकास गरेर विद्यालयको विकासमा सहभागी हुनुपर्छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार