हाम्रो पुस्ता भाषणमा रमाउँदै आयो । भाषणमा मख्ख पर्दै आयो र भाषणले नै देशमा कायापलट ल्याउने कुरामा हामीले विश्वास गर्दै आयौँ । त्यसैले हाम्रोसम्मको पुस्ता भाषण भनेपछि हुरुक्कै हुन्छ । भाषणको समाचार लेख्न हाम्रा पुस्ताका सञ्चारकर्मी मरिहत्ते गर्छ । हाम्रो पुस्ता भाषणका भिडियो दोहो¥याइ तेहे¥याइ हेर्छ । अनि पत्रकार पनि नेताको भाषणको समाचार बनाउन र भिडियो खिच्न भनेपछि बुर्कुसी मारेर दौडिहाल्छन् ।
सायद यसैले होला नेताहरूले भाषणमा कहिल्यै कन्जुस्याइँ गरेनन् । भाषणमा दिन बाँकी केही पनि राखेनन् । भाषणमा बनाउन केही बाँकी राखेनन् । भन्न बाँकी केही नराखी भनिसके । कसैले देशलाई सिङगापुर पो बनाएनन् कि । कसैले देशका स्रोत साधनको प्रयोग गरेर देशलाई समृद्धशाली पो बनाएनन् । गर्न केही बाँकी नराखी सुनाइसके । तर अवस्था ज्यूँका त्यूँ । तर अझै पनि हामी भाषण सुनेर अघाएका छैनौँ ।
भाषणको ...को न्यानोमा हामीले आनन्द लिन छाडेका छैनौँ । सायद नानीदेखि लागेको बानी भएर होला ।
अन्य देशका नेतृत्व र नेताले भाषण सुनाउने फुर्सद पाएनन् । कतै गएर गफ चुट्न पाएनन् र त उनीहरूले आफूलाई धेरै अघि पु¥याइसके । हामीलाई कामभन्दा कुरा प्यारो छ । यसमा हामीहरुको पनि कमजोरी छ । हामीले नेतालाई गफ हैन काम गर भनेर भन्ने हैसियत कहिल्यै देखाएनौँ ।
यस्तै भाषण शनिबार पनि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सुनाए । वाग्मती प्रदेशलाई आत्मनिर्भर बागमती प्रदेश बनाउने रे । आहा ! सुन्दा कम्ता आनन्द लागेन ।
तिर्साैँ वर्षदेखि यस्ता भाषण सुन्ने बानी लागेकोले होला यस्ता भाषण सुन्यो कि ताली पिटिहाल्न मन लागिहाल्ने । उनी उद्योग परिसंघ बागमती प्रदेशको कार्यक्रममा मुख्यमन्त्री भन्दै थिए, “प्रदेशमा उद्योग, कालकारखाना स्थापना गरी आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति यो सरकारले लिएको छ ।”
सरकारले कृषि क्षेत्रमा जोड दिने बताउँदैै विगतका दिनमा कृषिमा व्यक्ति केन्द्रित भएकाले त्यसको अन्त्य गरेर व्यवसायीकरण गरेर अगाडि बढ्ने मुख्यमन्त्रीले भने ।
भन्न त गर्नै पर्ने कुरा भनेका हु्न् । नचाहिँदो कुरा तबोलेको होइनन् नि ! तर कामको नाममा सिन्को पनि त भाँच्नै पर्ला नि ? अब त यस्ता भाषण त टाइम पासका लागि सुने जस्तो लाग्न थालिसक्यो । यो काम गर्न कसले छेकेको थियो र अहिलेसम्म ? हामीलाई त भाषणमा धेरै मख्ख पारिसक्नुभयो । हामी त्यसैमा रुमल्लिँदै पनि आयौँ । तर अब नयाँ पुस्ताका बारेमा सोच्नु पर्दैन मुख्यमन्त्रीज्यू ।
तपाइँहरूले जनयुद्ध सकेर देशमा गणतन्त्र ल्याएपछि जन्मिएका पुस्ता यो देश छाडेर विदेसिन थालिसके । तपाइँहरूको अकर्मण्यताबाट विरक्तिएर पलायन हुन थालिसके । तर तपाइँहरूले त्यही पुरानै भाषणको रटान लगाइरहँदा अलिकति आत्मग्लानी हुँदैन ?
अहिलेसम्म हामीलाई त तपाइँहरूले पङ्गु बनाउनुभयो । अब अझै नयाँ पुस्तालाई पनि पङ्गु नै बनाइरहने हो ? यही हो तपाइँहरूको उलब्धि ?
जुन कार्यक्रममा गयो त्यहीँका मानिसलाई मख्ख पारेर भाषण गर्दैमा देशमा परिवर्तन आयो त ?
यस्ता कुरा कति सुनाएर मात्र हिँड्नुहुन्छ ? अब त खाका बनाउनुहोस् न । अब त देशका विकासका लागि योजना बनाउनुहोस् न । बजेटको जोहो गर्नुहोस् न । बेरोजगार बसेको युवाहरूलाई धमाधम काममा खटाउनुहोस् न ।
नागरिकलाई तपाइँले गर्ने भाषणले भन्दा काम गर्दा आउने पसिनाले पो आनन्द दिन्छ त मन्त्रीज्यू ।
यही भूमिका बसेर पसिना बगाउने अवसर सिर्जना गरिदिनुस् न । संघीय गणतान्त्रिक मुलुकमा सायद प्रदेशले आफ्नो भूगोलमा आफ्नो योजना बनाएर काम गर्न पाउँछ क्यारे नि हैन मुख्यमन्त्रीज्यू ? यो प्रदेशको स्रोत र साधनको उच्चतम सदुयोगका लागि किन योजना बनाउन कन्जुस्याइँ गर्नुहुन्छ ? यहाँका युवालाई विदेशमा भन्दा यही धेरै आम्दानी हुने अवसर बनाउनेतर्फ किन काम गर्नुहुन्न ? कुराले मात्र चिउरा भिज्दैन हैन र मुख्यमन्त्रीज्यू ? तपाइँले ठाउँठाउँमा गएर भाषण गरिदिनुहुन्छ, विकासको लहर ल्याइदिनुहुन्छ तर अवस्था त जस्ताको तस्तै छ भन्ने कुरा चाहिँ कतिको हेक्कामा राख्नुभएको छ ?
कि भाषण नै गरेर बाँच्न सक्ने बनाउने हो नेपाली नागरिकलाई ? काम गर्न सक्ने जति सबैलाई विदेश लखेट्ने अनि गफ जानेका र तिकडम गर्न आउनेहरू यहीँ बसेर यही रेमिट्यान्सको पैसाले जेनतेन देश चलाउँदै गफ जोतेर बस्ने हो ? अब त प्रस्ट पारिदिनुपर्छ तपाइँहरुले ?