छैठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता वाग्मती गाउँपालिकामा फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो । बागमती खेलकुद विकास समिति झुरझुरेको आयोजनामा प्रतियोगिता हुन लागेको जनाइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक बागमती गाउँ कार्यपालिकाको कार्यलय रहेको छ ।
विगतको संस्करणझैँ यस संस्करणमा पनि नेपालका “ए“ डिभिजनका फुटबल क्लबहरु सहितको सहभागिता रहने र दैनिक सातदेखि दश हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले यस वर्षदेखि नगद १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
जनता माध्यमिक विद्यालय खेलमैदानमा हुने यस प्रतियोगितामा नेपालका उत्कृष्ट “ए डिभिजन “ का क्लबहरू, विदेशी लगायत अन्य गरी जम्मा १० ओटा क्लवहरु सहभागी रहने जनाइएको छ ।
प्रतियोगितामा क्लवहरूको सहभागिताको लागि मकवानपुर जिल्ला फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष, खेविसका सल्लाहकार एवम् पूर्व अध्यक्ष आदरणीय अरुण बल लामाले सहजीकरण गरिरहनु भएको छ ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बलको आतिथ्य रहेको थियो ।