माघ ७ गते आइतवार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले पनि स्वागत गर्ने भएको छ ।
पूर्व राजाको हेटौँडाको कार्यक्रमको स्वागत तथा संयोजन राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको छ । यसैबिच राप्रपाबाट अलग भएको कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि पूर्व राजाको स्वागत गर्ने निर्णय गरेको हो ।
महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहबाट सहयोग नपाएको भनेर आलोचनामा उत्रिएको पार्टी फुटाएको राप्रपा नेपाल पछिल्लो समय फेरि पूर्व राजा शाहप्रति नरम बन्दै गइरहेको छ ।
हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना गर्न र शुभेच्छुकहरुसँग भेटघाटका लागि आउन लागेका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । पार्टी जिल्ला समितिको आज बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । “पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौं “ जिल्ला अध्यक्ष सापकोटाले भने ।
पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ।
उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पनि जानेछन् ।
मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा माघ ७ गते आईतवार हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मूल समारोह समिति निर्माण भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।