के देशमा केही नभएकै हो त ?

Nigarani Online 318+ समाचार ( )
२३ पौष २०८०, सोमबार

 

ज्योति न्यौपाने 

देशमा केही भएन होइन हिजोभन्दा आज धेरै भयो । परिवर्तनको महसुस भएन होइन सोचेजस्तै परिवर्तन भएको छ । वि.सं.२०५४–०५५ सालपछिको झन्डै दुइ दशक अन्धकारमा बिताएको देशमा अहिले बिस्तारै विकासको दीप प्रज्ज्वलित हुँदै छ । देश उज्यालो हुँदै छ । 

संविधान जारी भएपछि बनेको स्थानीय सरकारले देशमा नागरिकले महसुस गर्नेगरी कामहरू गरिरहेका छन् । 

एकपछि अर्का स्थानीय सरकारहरू आफ्नो ठाउँ बनाउनका लागि प्रतिस्पर्धा गर्दै छन् । अहिले गाउँमा बाटो पुगेको छ मात्र होइन बाटाहरू स्तरीकरण भएका छन् । खानेपानीको अभाव भएको स्थानीय तहहरू अब बिरलै होलान् । विद्यालय स्वास्थ्यचौकी नभएका पालिकाहरू नै छैनन् भने पनि हुन्छ । नागरिकमा चेतना वृद्धि भएको छ । मानिस कसैको बहकाउ र लहैलहैमा होइन धेरै कुराको गहिरो अध्ययनबाट अगाडि बढ्ने भएका छन् । 

हिजोका दिनमा घन्टौँ लगाएर हिड्नुपर्ने स्थानमा अहिले यातायातका साधनका माध्यमबाट तत्काल पुग्न सकिने भएको छ । पुलपुलेसाहरू बनेका छन् । अहिले गाउँ बन्दै मात्र छैन बल्दै छ । 

हिजो सरकार कहाँ छ, कुन चराको नाम हो भन्ने अत्तोपत्तो हुँदैनथ्यो । आज हाम्रो नजिक सरकार छ । हामीले चाहेको काम गराउन र सुविधा लिन पाउने भएका छौँ । हिजो गुनासा गर्ने ठाउँहरू थिएनन् । आज गुनासा गर्ने निकायहरू प्रशस्त छन् । बिजुली बत्ती आउँदा हर्षाेल्लास मनाउनुपर्ने अवस्था थियो । आज हामी बिजुली र विद्युतीय सामानको भरपुर उपभोग गर्न पाएका मात्र छैनौँ बिजुली बचेर अर्थतन्त्रलाई उकासिरहेका छौँ । 

एक घुड्को पानी खानका लागि कति ठुलो सङ्घर्ष गर्नुपथ्र्याे आज कोठाकोठामा पानी पु¥याउन थालिसकेको छ । हामी जन्मेदेखि विद्यालय पढ्दा र कलेज बढ्ने बेलासम्मको समयलाई हेर्ने हो भने अहिले एउटा नयाँ युगमा फड्को मारेर आइपुगेका छौँ । हिजोलाई फर्केर हेर्दा एउटा कहाली लाग्दो युगलाई छिचोलेर यो अवस्थामा आइपुगेका छौँ । 

घाँसका भारी ल्याएर विद्यालय जानुपथ्र्याे, उत्पादिन अन्न बिक्री गर्नुपर्दा १ घन्टासम्म नाम्लोमा बोकेर लैजानुपथ्र्याे । अहिले यी सबै कुराहरूबाट प्रायः सबैले मुक्ति पाएका छन् । देशका सबै भागमा यो अवस्था पुगिसकेको छ भन्ने मेरो भनाइ त होइन तर हरेक ठाउँले केही न केही परिवर्तन गरिरहेका छन् । सबैले यो अवस्थाबाट मुक्ति पाएका छन् भन्ने निष्कर्ष पनि होइन । हिजोको भन्दा फरक तरिकाले काम गर्न भने पक्कै पाएका छन् ।  

तर नागरिकमा सन्तुष्टि छैन किन ? नागरिक धमाधम देश छाड्दै छन् किन ? नागरिक दिक्दार छन् किन ? यस कुरामा सरकारले चासो दिनुपर्ने हो कि होइन ? देशकै लागि लडेको सरकार छ । नागरिककै लागि रगत बगाउनेहरू अहिले डाडुपन्यु लिएर बसेका छन् । उनीहरूले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने होइन ? सरकारले असन्तुष्ट भए भनेर नागरिकलाई आक्षेप लगाउने कि त्यसको कारणको खोजी गर्ने ? 

नागरिक देश छाडेर पलायन भइरहेकोमा सरकार प्रमुखहरूले नागरिकलाई गाली गर्ने कि यसको रहस्यको खोजी गर्ने ? 

हो देशले काँचुली फेरेको त छ तर नागरिक अझै असन्तुष्ट छन् । नागरिक हतास छन् । छटपटाहट छ । चिन्ता छ, चासो छ । पलायन हुँदै छन् । नागरिकले अहिले असन्तुष्टि पोख्ने ठाउँ पाएका छन् र त उनीहरू असन्तुष्ट छन् । नागरिकले असन्तुष्टि पोख्ने अधिकार पाएका छन्  र त उनीहरूका असन्तुष्टिका सुस्केराहरूले सरकारलाई कान ठाडो पार्न बाध्य बनाएको छ । नागरिकले विश्वमा जहाँ जान पनि स्वतन्त्रता पाएका छन र त सुविधाको खोजीमा देश छाडिरहेका छन् । 

नागरिकले अहिले अभिभावक भएको महसुस गरेका छन्  । आफ्ना अभिभावकसँग रुने अधिकार नागरिकसँग छैन र सरकार ? आफ्ना असन्तुष्टिहरू पोख्ने अधिकार छैन र ? अनि नागरिकले गुनासो ग¥यो भनेर किन आतङ्कित हुने ? किन आफ्ना नागरिकको मुख थुन्ने कोसिस भइरहेको हो ? सरकार भन्छ नागरिक अराजक भए । के नागरिकले काम देऊ भन्दा अराजक देखिने हो ? नागरिकले गुनासा राख्दा सरकारले गम्भीर भएर सुन्ने कि उल्टो आरोप लगाउने ? नागरिकले असन्तुष्टिहरू पोख्दा त्यो असन्तुष्टिको लेदोमा चिप्लिने डर हो सरकारलाई ? 

अबको नागरिकको चिन्ता हो बेथितिको । अबको नागरिकको सरोकार हो व्यवस्थित विकास । अब नागरिकको आक्रोश हो भ्रस्टाचार विरुद्ध । बलियो सरकार । बलियो कानुन । नागरिकले अब कसैको निर्देशनमा होइन अब विधिमा चल्ने अवस्थाको खोजी गरेका हुन् । अब पहुँचको भरमा काम हुने अवस्थाको अन्त्य खोजेका हुन् । अब कुनै नेताको पछि लागेर उसको अनुचर भएर होइन योग्यता र क्षमताको कदर हुनुपर्ने नागरिकको मनोभावना हो । 

पहुँचको भरमा विकास होइन आवश्यताका आधारमा विकास हुनुपर्ने अहिलेको माग हो । कोही दिनदिनै सम्भ्रान्त बन्दै जाने कसैले रोजगारीका लागि रोइकराइ गर्नुपर्ने अवस्थाको अन्त्य हो । 

रोजगार यहीँ चाहिएको हो । रोजगार मात्र होइन समय सुहाउँदो पारिश्रमिकको खोजी हो । काम खोजेको हो । कामनुसारको पारिश्रमिकको खोजी हो । विधि खोजेको हो । आदेश र निर्देशको अन्त्य चाहेको हो । 

उज्यालो दिनहरू त आएकै हुन् तर त्यो उज्यालोमा सरकारले अनियमितता देख्न सकेन वा देखेर पनि अनदेखा गरिरहेको कुरा प्रति नागरिकको असन्तुष्टि हो । खुलेआम घुस माग्ने कर्मचारीलाई ठेगान लगाउन नसकेकोमा चिन्ता हो ? कमिसन पाए मात्र बजेट पारिदिने नियतिको अन्त्यका लागि नागरिकको आक्रोश हो  । 

सरकारले नागरिका यी आक्रोश सुनिदिनै पर्छ । चाहे जोसुकै सकरारमा बसोस् यो नागरिकको सरोकार होइन । चाहे जुनसुकै दलले सरकारको नेतृत्व गरोस् यो सर्वसाधारणको चासोको विषय होइन । जसले नागरिकका असन्तुष्टिको सम्बोधन गर्छ उसकै पक्षमा हुन्छन् । नागरिक जसले देशमै बस्ने वातावरण बनाइदिन्छन् उनीहरूकै शरणमा पुग्छन् । अबको समय कुनै दलले मेरा कार्यकर्ता यति छन् मेरा सदस्य यति छन् भनेर गन्ती गरेर नबस्दा हुन्छ । अब काम गर्नेका नागरिक हुन्छन् । अब बेथिति अन्त्य गर्नेको साथमा नागरिक हुन्छन् । विधिमा देशमा चलाउनेलाई युग युग साथ दिने छन् ।  



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार