सूर्यबहादुर राई
किरात देबास राई उत्थान समाज नेपालको स्थापना वि.सं. २०६१ मा भएको हो। यो संस्था देबास राई समुदायको सामाजिक, सांस्कृतिक, भाषिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ स्थापना गरिएको हो। लामो समयदेखि उपेक्षित र हराउँदै गएको देबास राई समुदायको पहिचानलाई पुनःस्थापित गर्ने, सामाजिक रूपले सशक्त बनाउने, र नयाँ पुस्तामा सांस्कृतिक चेतना भर्ने अभियानमा यो संस्था अग्रसर रहिआएको छ।
ऐतिहासिक पृष्ठभूमि र पुनरुत्थानको आवश्यकता
देबास राई समुदाय किरात राई समाजभित्रकै एक महत्वपूर्ण उपसमूह हो, जसको मौलिक संस्कृति, भाषा र परम्परा छन्। मुख्यतः मकवानपुर, सिन्धुली, चितवन, धादिङ, रौतहट, नुवाकोट लगायतका जिल्लामा बसोबास गर्दै आएको यो समुदाय विगत केही दशकदेखि पहिचान विहीनता, अशिक्षा, र भित्री विभाजनको समस्याबाट गुज्रँदै आएको थियो। आफ्नै अस्तित्व मेटिन लागेका बेला, किरात देबास राई उत्थान समाज नेपालको स्थापना एक उपयुक्त र अत्यावश्यक कदम सावित भयो।
संस्थागत विस्तार र स्थानीय तहसम्मको सञ्जाल निर्माण
स्थापना पश्चात् संस्थाले मकवानपुर जिल्लाबाट सक्रियता आरम्भ गर्यो। यहाँको जिल्ला समितिले अन्य जिल्लाहरू—चितवन, रौतहट, धादिङ, नुवाकोट—मा पनि समिति गठन गर्न भूमिका खेलेको हो। यसले विभिन्न जिल्लाका देबास राई समुदायलाई संलग्न गराउँदै एकताबद्ध गर्ने कार्य गर्यो। त्यसपछि गाउँस्तरमा समेत समिति गठन हुन थाले। गाउँ÷टोल समितिहरू निर्माण गरी समुदायमा सांस्कृतिक सचेतना जगाउने, स्थानीय समस्याको पहिचान गर्ने, र साझा कार्यक्रमहरू सञ्चालन गर्ने कार्यहरू सुरु भए। यसले संस्था र समुदायबीच विश्वासको सम्बन्ध निर्माण गर्यो।
संचार माध्यमद्वारा आवाज प्रवाह र सांस्कृतिक पुनर्जागरण
संस्थाको अर्को प्रमुख उपलब्धि संचार माध्यमको प्रभावकारी उपयोग हो। समाजले विभिन्न सञ्चार माध्यमहरूको सहयोगमा आफ्ना समुदायका सदस्यहरूलाई आफ्ना संस्थागत गतिविधिहरूको जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ। यस्ता सञ्चार माध्यमहरूबाट सूचना प्रवाह गरी सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै समुदायको सहभागिता र सहकार्यलाई पनि प्रोत्साहन गर्ने प्रयास गरिएको छ।समाजले ‘देबास आवाज’ बुलेटिन प्रकाशन गर्न थालेको छ, जसले समुदायको समाचार, अभिव्यक्ति, सन्देश, र ऐतिहासिक तथ्यहरू समेटेर प्रकाशित गर्दछ। यो बुलेटिनले समुदायको आवाज राष्ट्रिय स्तरमा पु¥याउने काम गरेको छ। यसका साथै, हेटौडाको बसमाडी क्षेत्रबाट ‘देबास बस्ने÷खेल्ने’ परम्परागत चलन पुनः सुरु गरिएको छ। पूर्वी किरात परम्परासँग जोडिएको यो सांस्कृतिक अभ्यास वर्षौंदेखि लोपोन्मुख अवस्थामा थियो, जसलाई पुनःस्थापित गरेर नयाँ पुस्तासम्म मूल्य र पहिचान हस्तान्तरण गर्ने काम भएको छ। यसै क्रममा, साकेला उधौली र उभौली पर्वहरूलाई पनि पुनर्जीवित गरिएको छ। यी पर्वहरू केवल धार्मिक नभई सांस्कृतिक पहिचान र एकताको प्रतीक हुन्, जसलाई संस्थाले समाजशास्त्रीय र ऐतिहासिक महत्त्वका रूपमा पुनःस्थापना गरेको छ।
भाषिक संरक्षण र शैक्षिक पहलहरू
भाषा संस्कृति र अस्तित्वको मेरुदण्ड हो। त्यसैले समाजले देबास राई भाषाको शब्दकोश र पाठ्यपुस्तकहरू तयार गर्रेको छ। यी शैक्षिक सामग्रीहरू अहिले मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जिल्लाका केही स्थानहरूमा प्रयोगमा ल्याइएका छन्। यसले बालबालिकालाई मातृभाषामा शिक्षाको पहुँच दिएको छ, साथै भाषिक अस्तित्वको संरक्षण र संस्कृतिप्रतिको गर्व पनि बढाएको छ।
संस्थागत मान्यता र सहकार्य विस्तार
विगतको निरन्तर प्रयासपछि संस्थाले किरात राई यायोक्खा, जो सम्पूर्ण राईहरूको छाता संस्था हो, सँग औपचारिक समावेशिता प्राप्त गरेको छ। यसले देबास राई समुदायको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गरिदिएको छ। सुरुवातमा आफ्नै समाजभित्रको चुनौती र अन्य समुदायहरूको उपेक्षा सामना गर्नुपरे पनि, संस्था थाकेको भने छैन, हार मानेको छैन, निरन्तर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै समाजलाई एकताको डोरीमा बाँध्न सफल भएको छ।
कोष संकलन र समाजिक सहभागिता कार्यक्रमहरू
आर्थिक स्रोत व्यवस्थापनका लागि संस्थाले कोष संकलन कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। तिहारको अवसरमा आयोजना गरिने तिहार सांस्कृतिक कार्यक्रम विशेष उल्लेखनीय छ। यस कार्यक्रमबाट उठेको कोष समाजका शैक्षिक, सांस्कृतिक र सामाजिक कार्यहरूमा प्रयोग गरिन्छ।
किरात समुदायको आफ्नै भिन्न संस्कृति, भाषा, परम्परा र चाडपर्वहरू छन्—जसमा साकेला (उधौली÷उभौली), मुण्डुम (मौखिक धर्मग्रन्थ), र प्रकृति पूजा मुख्य हुन्। तर, नेपालजस्तो बहुसांस्कृतिक र हिन्दू बहुल राष्ट्रमा किरात समुदायका मानिसहरू पनि दशैं, तिहार, माघे संक्रान्ति जस्ता मुख्य हिन्दू चाडहरूमा सहभागी हुने गर्दछन्।
तर, यी चाडहरूलाई सिधै हिन्दू शैलीमा नमनाई, किरातीहरूले आफ्नो सांस्कृतिक शैली, भेषभूषा, गीत–संगीत र मूल्यहरूसहित पर्वहरू मनाउने गरेका छन्। उदाहरणका लागि, तिहारको बेला किरात समुदायहरूले परम्परागत किरात नाचगान, पोशाक र रीतिथितिको प्रयोग गर्दै चाड मनाउने गर्छन्। यसरी उनीहरूले राष्ट्रिय पर्वमा भाग लिँदा आफ्नो पहिचान पनि जोगाइरहेका हुन्छन्। यो अभ्यास केवल परम्परागत मिलन मात्र होइन, यो सांस्कृतिक सहकार्य र आपसी सम्मानको प्रतीक पनि हो। यसले हिन्दू र किरात समुदायबीच सांस्कृतिक अन्तरसम्बन्ध र सहअस्तित्वको भावना विकास गर्न सहयोग पु¥याएको छ। यसले समुदायमा उत्तरदायित्व र सहभागिताको भावना जगाएको छ, जुन संस्थाको दीर्घकालीन अस्तित्वका लागि अत्यावश्यक छ।
चुनौतीहरू र सामूहिक जिम्मेवारी
यात्रा सहज भने पक्कै थिएन। स्रोतको अभाव, आन्तरिक असहमतिहरू, मानसिक पराधीनता, र बाह्य अस्वीकारजस्ता समस्याहरूले संस्था अघि बढ्न गाह्रो बनायो। तर पनि समाजले संघर्ष, समर्पण र एकताको माध्यमबाट यसलाई पार गर्दै आएको छ। अब संस्थाले केन्द्रीय र जिल्ला समितिहरूको जवाफदेहीता कायम गर्नुपर्नेछ। पारदर्शिता, सहभागिता, र स्थानीय सरोकारमा आधारित कार्यशैली कायम राख्न सके मात्र संस्था अझ बलियो बन्न सक्छ। साथै, प्रत्येक देबास राई व्यक्तिको दायित्व हो—समाजप्रति योगदान गर्नु, सघाउनु र संरक्षण गर्नु।
अग्रगामी सोचः संरक्षण, पहिचान र सशक्तीकरण
आगामी दिनमा संस्थाले तीन आधार स्तम्भहरूमा ध्यान दिनुपर्नेछः
सांस्कृतिक संरक्षण
भाषिक विकास
सामाजिक सशक्तीकरण
सबै कार्यक्रम तथा नीति बनाउने क्रममा संस्कृतिमा प्राथमिकता, भाषालाई सम्मान, र स्थानीय ज्ञान प्रणालीको समावेश हुनु जरुरी छ।युवालाई नेतृत्वमा ल्याउने, डिजिटल माध्यमको प्रयोग गर्ने, तथा अन्तरपुस्तीय संवादमा जोड दिने खालका कार्यक्रमले समाजलाई समय अनुसार सक्षम र समावेशी बनाउनेछ।
निष्कर्ष
किरात देबास राई उत्थान समाज नेपाल आज समर्पण र सङ्घर्षको प्रतीक बनेको छ। हराउँदै गएको संस्कृति, चिच्याउँदा नसुनिएको आवाज, अनि अस्तित्व विहीन मानिएको पहिचानलाई पुनःस्थापित गर्ने अभियानमा यो संस्था प्रेरणाको स्रोत बनेको छ। भोलिको यात्रालाई अझ मजबुत बनाउन समस्त देबास राई समुदायको एकता, सहकार्य र योगदान अनिवार्य छ। संस्था सुदृढ, पारदर्शी र उत्तरदायी बन्न सके मात्र हामीले आज देखेको सपना भोलिको पुस्ताले जिउन पाउनेछ। हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो अस्तित्व—हामी सबैको साझा धरोहर हो। त्यसको संरक्षण सबैको जिम्मेवारी हो।
लेखक किरात देवास राई उत्थान समाज नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा देवास आवाज बुलेटिनका सम्पादक हुनुहुन्छ