मकवानपुरको मनहरी गाउँपालिकाले पत्रकार सम्मेलनका नाममा बोलाएर पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरले आपत्ति जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै महासंघ मकवानपुरले मनहरी गाउँपालिका कार्यालयले पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धक बनाउने, बाहिरी मान्छेहरूलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेसमाथि धावा बोल्ने काम गरेको जनाएको छ । साथै पत्रकारमाथि दुर्व्यवहार गर्नुले आम मकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
देशको सबैभन्दा महत्वपूर्ण सरकार हो स्थानीय सरकार । स्थानीय सरकार नागरिकको नजिकमा छ । नागरिकसँग अत्यन्त निकट रहेर काम गरिरहेको छ ।
नागरिकका सुख दुखमा रहने सरकार हो स्थानीय सरकार । सरकारको महसुस गर्न नपाएका नागरिकले अहिले स्थानीय सरकार गठन भएपछि सबैभन्दा धेरै राज्यको महसुस गर्न पाएका छन् ।
अधिकार र सुविधाबाट बञ्चित नागरिकले अहिले सरकारको सान्निध्यता पाएका छन् । न्यानोपनको महसुस गरेका छन् । सुरक्षित महसुस गरेका छन् र हरेक काममा सजिलो अनुभूति पनि गरिरहेका छन् ।
आफैँले आफ्नो सरकार बनाउने सुअवसर पाएका छन् । पाँच वर्षका लागि घर नजिकै बस्ने सरकार बनेपछि संघमा बन्ने सरकारसँग नागरिकको कमै चासो छ । अझ प्रदेश सरकारसँग त नागरिकले कुनै सरोकार नै राख्दैनन् ।
त्यसैले नागरिकलाई चाहिएको सरकार हो स्थानीय सरकार । नागरिकले भित्रैदेखि माया गर्ने सरकार हो स्थानीय सरकार । आफ्नो गुनासो पोख्न पाइन्छ । आफ्नो ठाउँमा विस्तारै विकासका मार्ग कोर्दै जान पाइन्छ । त्यसैले त अहिले सबैको मुखमा झुन्डिएको छ स्थानीय सरकार बलियो बनाऊ, प्रदेश सरकारको भार कटौति गर ।
स्थानीय सरकार शक्तिशाली हुनुपर्छ । स्थानीय सरकारलाई बजेट वृद्धि गर्नुपर्छ । केन्द्र सरकारले भन्दा धेरै बजेटको सदुपयोग गरेका छन् स्थानीय सरकारले । धेरै लगानी गरी आफ्नो ठाउँ बनाएका छन् ।
त्यसैले आगामी वर्षदेखिको बजेटमा स्थानीय सरकारलाई प्राथमिकता दिए हुन्थ्यो भन्ने चाहना पनि नागरिकको छ ।
तर पनि जुन सरकार नागरिकसँग प्रत्यक्ष सरोकार राख्छ त्यही सरकार अहिले सबैभन्दा भ्रस्ट भएको विभिन्न तथ्याङ्कले देखाएको छ । अख्तियारमा परेको उजुरीहरूले पनि यस्तै आँकडा प्रस्तुत गर्दछन् ।
सबैभन्दा धेरै अनियमितता र सबैभन्दा बढी शासकीय अहङ्कार पनि स्थानीय तहमा पाइन्छ ।
नेपालका ७५३ वटा स्थानीय सरकारप्रति नागरिकले जति आशा गरेका छन्, जति भरोसा गरेका छन् त्यति आशायुक्त र भरोसा गर्न लायक काम गर्न सकेका छैनन् ।
बरु उनीहरूमा शासकीय अहम्ताका मात चढ्न थालेको भान हुन थालेको छ । बजेटमा अनियमितता । मनपरी निर्णयहरू, देशको स्रोत साधनको चरम दुरुपयोग, नागरिकमाथि रैतीको व्यवहार आजको स्थानीय सरकारको नियत बन्दै गइरहेको छ ।
न नागरिकलाई राम्रो व्यवहार गर्छ न सञ्चाकर्मीप्रति हेर्ने दृष्टिकोण नै स्थानीय सरकारको सकारात्मक छ । लाग्छ पत्रकारले स्थानीय सरकारको बदनाम मात्र गराउन चाहेको महसुस स्थानीय सरकारले गरिरहेका छन् ।
पत्रकारले समाजलाई सभ्य बन्न प्रेरित गरिरहेको हुन्छ । अनियमितताको अन्त्य गरी सुशासनको प्रत्याभूति हुने वातावरण बनाउने प्रयत्नमा लागि रहेको हुन्छ ।
न स्थानीय सरकारलाई खुइल्याउने काम पत्रकारको धर्म हो न कपोलकल्पित कुराहरू लेखेर स्थानीय सरकारलाई हतोत्साहित बनाउने प्रयत्न हो । सञ्चारकर्मी र सञ्चारगृहले सधैँ सकारात्मक दृष्टिकोण राखेर काम गरिरहेको थियो, छ र गर्ने छ ।
पालिकाले गरेको अनियमितता र राज्यस्रोत दोहनका कुराहरूलाई ढाकछोप गरेर राज्यप्रतिको बेइमानी सञ्चारकर्मीले कहिल्यै गर्दैन ।
राज्य बलियो भयो भने देशमा सबै कुराले फस्टाउने मौका पाउँछ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ ।
देशप्रति बेइमानी गरेर गलत कामको ढाकछोप गरेर अहिले नै राज्यलाई लुटेर धनी हुन खोज्नु देशको भित्री गुदी सुध्याएर बोक्रा मात्र बाँकी राख्नु जस्तो हो । यस्तो काम न सञ्चारकर्मी गर्छ न अरूले गरेको टुलुटुलु हेरेर बस्छ ।
यसका विरुद्ध सञ्चाकर्मी निर्धक्क लेख्छ । जति राज्य सञ्चारकर्मीप्रति निर्मम् हुन थाल्छ त्यति कलमका निबहरू तिखा हुँदै जान्छन् ।
मकवानपुर जिल्लाका स्थानीय सरकारमा अहिले अहङ्कार चढेको छ । शासकीय अहम्ताको मात लागेको छ । त्यसैले ऊ सञ्चारकर्मीलाई फुटेका आँखाले पनि देख्न सक्दैन ।
उनीहरू नागरिकप्रति रैतीको व्यवहार प्रदर्शन गर्छन् नै आफ्नो कर्तुत उदाङ्गो परिदिने भयले सञ्चारकर्मीलाई त शत्रुकै व्यवहार गर्छन् ।
मकवानपुरका स्थानीय सरकारले धेरै राम्रा कामहरू गरेका छन् । उनीहरूले गरेका राम्रा कामको हामीले जहिले पनि सह्राहना गरेका छौँ । गाउँ बनेको छ । बाटो स्तरीकरण भएको छ । नागरिकले धेरै सुविधाको महसुस नगरेका होइनन् । तर त्योसँगै अनियमितता बढेको छ । राज्यस्रोतको चरम दोहन भइरहेको छ । के यसका विरुद्ध आवाज उठाउन नपाइने हो ? स्थानीय सरकारको नेतृत्व गरेँ भन्दैमा रातारात धनी हुन जे पनि गर्न पाइने हो ? अनि सबै क्षेत्रलाई अपमान गरेर र दमन गरेर आफू महान् शासक भएको प्रमाणित गर्न खोजेका हो ?
यहाँ पालिका प्रमुखहरु पत्रकारले खोजेको सूचना दिनुलाई अपराध ठान्छन् । आफूलाई श्री ३ भन्दा उपल्लो दर्जामा राख्न खोज्छन् । कोही ढुङ्गा गिट्टी बालुवाको चरम लुट गर्छन् र आफैँ निर्णय गरेर तिर्नुपर्ने जरिबाना मिनाहा गर्छन् । कोही पत्रकारलाई फकाइफकाइ बोलाएर लोप्पा खुवाएर बेइज्जती गर्दै पठाउँछन् । के यही हो स्थानीय सरकारले गर्ने काम ?
स्थानीय सरकारको कमीकमजोरी औँल्याइदिँदा वाग्मती गाउँपालिकाले निगरानी अनलाइनलाई दुस्मन ठान्यो । सरकारका शासकहरूको चाकरी गर्नुपर्छ भन्ने कार्यकर्ताको धम्की आयो । नेताहरूका दुर्गुणलाई औँल्याउनु खोज्दा विदेशबाट क्यामेरा ल्याएको भरमा पत्रकार पत्रकार बनेको भन्दै दलालको संज्ञा दियो । हामीले लेखेको समाचारमै टिप्पणी गर्दै नेपाल कम्युनिष्ट पार्टी नामको फेसबुक पेजबाट ‘कमिसनका लागि विभिन्न व्यवसायीलाई धम्की र त्रास देखाउँछ उही पत्रकारबाट देश जनताको लागि १२ घण्टा काम गर्ने राजनेताको विरुद्ध समाचार बनाउने ’ भन्ने निकृष्ट आरोप लगायो । न हामीले अहिलेसम्म कुनै व्यवसायीलाई धम्की दिएका छौँ र न कसैबाट एक रुपियाँ पैसा लिएका छौँ ।
उल्टै व्यवसायीलाई धम्क्याएर चन्दा असुल्ने र त्यही पैसाको भरमा राजनीतिको धन्दा गर्नेहरू नै यस्तो आरोप लगाउँछन् । उनीहरूलाई देश भाँड्नु छ नागरिकलाई उद्यम र व्यवसायमा लगाउने होइन देशमा लगानी भित्र्याउनु होइन अस्थिरताको खेती गर्नु छ र त यस्तो आरोप लगाएर आफ्ना कर्तुतको ढकछोप गर्न खोज्छन् ।
स्थानीय सरकारले नागरिकसँग निकटको सम्बन्ध राख्नुपर्छ कि पर्दैन ? सञ्चारकर्मीले खोजेका सूचना दिनपर्छ कि पर्दैन ? अनि आफ्ना कमीकमजोरीहरू औँल्याइदिने सञ्चारकर्मीहरूलाई दुस्मन नै देख्ने कि आफू सच्चिन प्रयत्न गर्ने ?
गल्ति कसबाट हुँदैन । काम गर्दै जाँदा कमजोरी कसले गर्दैन र त्यो कुरालाइृ सकैले आँल्याइदिन्छ भने त्यो रिस गरेको हो कि सहयोग गरेको हो ? यति कुरा बुझ्नु पर्छ कि पर्दैन ?
यस विषयमा मकवानपुरका स्थानीय सरकार सचेत बनुन् । हामी मकवानपुर बन्नुपर्छ भन्ने चाहन्छौँ । स्थानीय सरकारले यस ठाउँलाई समृद्धशाली बनाओस् र यहीँ बसेर नागकिरले केही गर्न सकुन् । भन्ने हाम्रो ध्येय हो । यसमा सञ्चारकर्मी सधैँ साथमा छ । हामी कसैका दुस्मन होइनौँ ।