दुग्ध सहकारी संघहरूद्वारा प्रदेश कृषि मन्त्रीलाई ज्ञापनपत्र

Nigarani Online 433+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

वाग्मती प्रदेश अन्तर्गतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरूले कृषकहरूको समस्यालाई समाधान गर्न वाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।

मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा वर्तमान समयमा  दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको गर्न आग्रह गर्दै विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापनपत्रमा वाग्मती प्रदेशका कृषकहरूमा दुग्ध उत्पादन क्षेत्रमा उत्साह बढेसँगै दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि भई, सिंगो देशलाई दुधमा आत्मनिर्भर बनाउन सहयोग पुग्नुका साथै किसानहरूमा उत्साह देखिएको र यो उत्साह कायम राखी मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादित दुध तथा दुधजन्य पदार्थ बिक्रीमा राज्यको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिएको छ ।

तर राज्य कृषकहरूको समस्या समाधानतर्फ केन्द्रित नभएकाले कृषकहरूमा छाएको निराशा हटाउन बागमती प्रदेश सरकारसमक्ष किसानहरूका तर्फबाट उठाइएका बिभिन्न मागहरू समाधान गर्न ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्रमा उत्पादित दुग्धजन्य पदार्थको बजारीकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको ब्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगतभन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने, साथै उल्लेखित दोहोरोपन भन्ने शब्द हटाउनुपर्ने, दुग्ध उत्पादक किसान र सहकारीका आवश्यकताका आधारमा अनुदानको ब्यवस्था गर्नुपर्ने,  दुग्ध उत्पादक सहकारी संघहरू र प्रदेश सरकार एवं सम्बन्धित मन्त्रालयबीच त्रैमासिक रुपमा छलफल, अन्तरक्रिया गरी समस्या पहिचान र समाधान गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।

कृषकहरूको मागको सम्बोधन गर्नेतर्फ आफ्नो ध्यान गएको र छिट्टै प्रदेश सरकारको लगानीमा हेटौंडा १० मा निर्माण हँुदै गरेको पाउडर प्लान्ट तयार भएपछि दुग्ध क्षेत्रमा आउने समस्या समाधान हुने बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउने क्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, सिन्धुली जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन देवकोटा, सहायक ब्यवस्थापक दामोदर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार