हेटौँडा वाग्मती प्रदेशको राजधानी हो । हेटौँडा सात प्रदेशमध्ये मुख्य प्रदेश मानिएको वाग्मती प्रदेशकै राजधानी हो । अझ भनौँ यो त राजधानी भएको प्रदेशको राजधानी हो । राजधानीको पनि राजधानी सहर हो हेटौँडा ।
तर हेटौँडाको दयनीय अवस्था देख्दा लाग्छ यो राजधानी नै होइन । यही कुरालाई मलजल गर्दै छन् यहीँका मनिस । हेटौँडालाई राजधानी जस्तो बन्न धेरै कुरा चाहिएको छ । तर कुनै कुरा पनि पाउन सकेका छैन ।
हेटौँडालाई सडक चाहिएको छ । फराकिलो सडक नभएर हेटौँडा कुरुप देखिएको छ । हेटौँडाका सडक वरिपरिका घरहरुले सहरको सुन्दरता बिगारेको छ । देशका अन्य सहरहरु भव्य भइरहँदा हेटौँडाले कहिल्यै रुप फेर्न सकेन । उही पुरानै अनुहार लिएर आफूलाई राजधानी भनिरहँदा हेटौँडालाई अलिकति पनि सुहाएको छैन । अझ यहाँका बाटोघाटोको अवस्था हेर्ने हो भने यो उही ५० वर्ष अघिको वृद्ध हेटौँडा जस्तो लाग्छ । यसले आधुनिक रुप लिन सकेन । यसलाई आधुनिकीकरण गर्न कहिल्यै कसैले चासो देखाएनन् । कति यहाँबाट निर्वाचित भएर गए । यहीँका नेताहरु पटक पटक उच्चस्तरीय मन्त्री पदमा पुगेका तर हेटौँडाको मुहार फेर्नमा उनीहरुले अलिकति पनि चासो र चिन्ता लिएनन् ।
हेटौँडालाई सडकले वृद्ध बनाएको छ । हेटौँडालाई पुराना घरहरुले जीर्ण देखाएको छ । असी बर्षे वृद्धको जस्तो अनुहार लिएर डिच्च हाँस्न खाजेको हेटौँडालाई कहिँकतैबाट अलिकति पनि सुहाएको छैन । साँच्चै भन्ने हो भने कुरुप हेटौँडाले यहाँका मानिसका सोचलाई प्रतिनिधित्व गरिरहे झैँ लाग्छ । बाटो साँघुरो हुनाले मानिसले खुला रूपमा हिँडडुल गर्न पाएका छैनन् । दिनहुँ सडक दुर्घटनाको शिकार हुनु परेको छ ।
सडक विस्तारको कुरा हेटौँडामा जहिले पनि पेचिलो बन्छ । पूर्वपश्चिम राजमार्ग विस्तारको काममा हेटौँडाले मात्र अवरोध गरिरहन्छ । देशका अन्य सहरहरुमा सडक विस्तार भइसकेका छन् र हुने क्रममा रहेका छन् । तर हेटौँडामा आइपुगेपछि यो विषय यति जटिल बन्छ कि यहाँबाट अगाडि बढ्नै सक्दैन । यसमा अवरोधकका रूपमा यहीँका नागरिक समाज, अदालत यहाँको बुद्धिजीवी र उद्योगपतिहरू नै देखा परेका छन् ।
सडक विस्तार हुनुपर्छ भनेर कहिल्यै कसैले आवाज उठाउँदैनन् । यहाँ सकेसम्म राज्य लुट्नुपर्छ भन्नेहरु बस्छन् । आफ्नै घरको धुरी जलाएर घरको सुन्दरता खोजी गर्नेहरुले नै हो हेटौँडालाई जहिले पनि बन्धक बनाएर राखेका ।
हेटौँडा बागमती प्रदेशको राजधानी हो । यो देशकै एउटा मुख्य सहर पनि हो । काठमाडौँबाट ३ घण्टाको दुरीमा रहेको सबैभन्दा नजिकको सहर हो यो । यो सहर काठमाडौँको विकल्पको सहर पनि हो ।
अब काठमाडौँले समग्र देशलाई धान्न नसक्ने अवस्थामा पुगिसकेको छ । देशभरका मानिसहरूको आकर्षणको रूपमा रहेको राजधानी काठमाडौँ अब सबैलाई समेट्न नसक्ने अवस्थामा पुगिँरहँदा प्रदेश राजधानीले त्यसको जिम्मेवारी बहन गर्नुपर्ने अवस्था छ ।
यो सहरलाई राजधानी जस्तै बनाउनु छ । यो सहरमा मानिसको आवादी बढाउनु छ । यहाँ काठमाडौँको विकल्पमा हुने गरी ठुला ठुला अस्पताल बन्नु पर्ने छ । सबै विषयको अध्यापन हुने महाविद्यालय सञ्चालन हुनुपर्ने छ । मेडिकल कजेल, इन्जिनियरिङ कलेज यहाँ आवश्यक छ । यस सहरलाई व्यवस्थित सहरीकरण गरी नमुना बस्ती बनाउनुपर्ने आवश्यकता छ ।
तर यहाँ पहिलो आधारभूत कुरा सडकले नै सबै कुरालाई आझेलमा पारिरहेको छ । सडक विस्तारको कुरा उठेको वर्षाैँ भइसक्यो तर त्यो विषयलाई कहिल्यै पनि यहाँका मानिसले गम्भीर रुपमा लिएनन् । उल्टै यसलाई टाउको दुखाइको विषय बनाइरहे । विकासका लागि त मानिसमा समर्पण चाहिन्छ । नागरिकमा आफ्नो ठाउँ बनाउने लगाव चाहिन्छ । केही त्याग, केही योगदान, र केही दिनसक्ने क्षमता भएमा मात्र ठाउँको विकास सम्भव हुन्छ । तर हेटौँडामा सडक विस्तारलाई गिजोलिरहेको देख्दा लाग्छ यहाँका मानिसलाई सडक विस्तार गर्नु नै छैन । यहाँका मानिसमा साँघुरो सोच छ । स्वार्र्थीपना छ ।
प्रदेशको राजधानीलाई राजधानी रहन दिनु नै छैन यहाँका मानिसमा । हेटौँडामा केही ठुलाठालु र सत्ताको वरिपरि घुमेर फाइदा लिनेहरुको जमात छ । यहाँ आफ्नो ठाउँलाई माया गर्ने मानिस हैन दलालहरुको रजगज छ । विचौलियाको धन्दा गर्ने क्षेत्र बनेको छ हेटौँडा । नेताहरुलाई पनि अस्थिरताको खेती गराएर चुनावीखेती गर्नु छ यहाँ । यति मात्र हो । सम्भ्रान्त वर्गले जहिले पनि अरुलाई गरिब नै बनाउन चाहन्छ । दुखी नै देखिरहन चाहन्छ । हो त्यसैले त यहाँ केही मुठीभरका सम्भ्रान्त वर्गले हेटौँडालाई माथि उठ्न नदिने षडयन्त्र रच्दैछन् । हेटौँडाबाट राजधानी अन्यत्र पठाउने जालो बुन्दै छन् । जो जो सडक विस्तार विरुद्ध सडकमा उत्रिए ति सबैलाई हेटौँडामा राजधानी भएकामा टाउको दुखिरहेको छ । उनीहरुको घर, जग्गा जमीन संघीय राजधानी र ठुला सहरहरुमा छ । उनीहरुलाई यो सहरसँग कुनै सरोकार छैन । मात्र बिगार्नु छ । यो सहरमा विकास हुन लागेकोमा टाउको दुखेको छ । यहाँका मानिसको जीवनमा परिवर्तन आउन लागेकोमा चिन्ता छाएको छ । उनीहरुलाई त यहाँ गरिबहरुको मात्र बसोबास होस् भन्ने चाहना छ । यहाँका मानिसको जीवनशैलीमा परिवर्तन आएको हेर्न सक्ने सामथ्र्य छैन ।
देशलाई मुठीमा लिन सक्ने र शासकहरुलाई हुँकार दिन सक्नेहरुले हेटौँडालाई अघि बढ्न नदिने भएका छन् ।
सडक विस्तारको कुरा जब उठ्छ अनि उनीहरु अदालत पुगिहाल्छन् । नेपालको अदालत पनि विचौलियाको मुठीमा छ । दुई नम्बरी धन्दा गर्नेहरुले जता नचायो त्यतै नाच्ने खालको छ । देशका कुरा भाँडमा जाओस् आफू बाँचु पर्छ, देश लुट्नुपर्छ भन्नेहरुको अधिनमा रहेको अदालतबाट कहिले हेटौँडाले न्याय पाउने ? जहिले पनि हेटौँडाका मुद्धालाई अन्योलतामा राखिदिने । केही मुठीभरका होषकहरुले पैसा दिएको भरमा सधैँ अस्थिरताको बिउ रोपिदिने अदालत नै देशमा भएपछि कहिले हुने समृद्धिका सपना पूरा ? कहिले आउने हेटौँडा व्यवस्थित सहर भएको हेर्ने दिन ?
के अब पनि हामी हेटौँडालाई कुरुप बनाएरै बसिरहने हो ? के यहाँबाट राजधानी सार्ने भित्री योजनालाई मलजल गरिरहने हो ? हामी फेरि पनि उही अनकन्टार बनेर बसिरहने हो ? कहिलेसम्म यस्तो हुन्छ हँ हेटौँडाका बुद्धिजीवी र विद्वनवर्ग ? के तपाइँहरुले हेटौँडाका बोमा कहिल्ये सोच्नु भएको छ । के तपाइँलाई हेटौँडा रोइरहँदा पनि निद्रा लागिरहन्छ ?
कहिलेसम्म रुवाइरहने हो हेटौडालाई ? अब सोचमा परिवर्तन आउने वेला भएन र ? अव हमीले नयाँ नेपालको कुरा गरिरहँदा हेटौँडालाई नयाँ बनाउन लाग्नु पर्दैन ?
हेटौँडामा देशभरका मानिसको आकर्षणको थलो बनाउनु पर्ने होइन ? यो एउटा भव्य सहर बनाउनु पर्ने होइन ? कसले गरिदिन्छ यो कुरा ?
यहीँका मानिसले अलिकति समर्पण नगर्ने हो भने अलिकति त्याग नगरिदिने हो भने यहाँ उज्यालो छाउँछ कहिले ? आज हामीले आफ्नो स्वार्थ मात्र हेरिरहँदा हाम्रा भावी सन्ततीका लागि कस्तो हेटौँडा छाडेर जाने हो ? अलिकति साचौँ न अलिकति गम्भीर बनौँ न । उपमहानगरपालिकालाई एउटा भव्य सहर बनाउएm न । तपाइँ हाम्रो बुद्धिविवेक यसैमा खर्च गरौँ न । किन सधैँ साँघुरो सोच राखेर सडकमा नाराबाजी मात्र गरिरहने ?
के यत्तिका लागि हो तपाइँहरु नागरिक अगुवा हुनु भएको ? के यत्तिका लागि हो तपाइँहरु उद्योगपति व्यापारी, र समाजका गन्यमान्य व्यक्ति भएको ? आफ्नो वर्ग अनुसार अफ्नो स्तर अनुसारको सोच र व्यवहार पनि परिवर्तन गरौँ न अनि हेटौँडा बन्ने कुरामा होस्टैमा हैँसे गर्न त हामी सबै लागि हाल्छौँ नि । हेटौँडा बने त तपाइँहरु पनि बन्नु हुन्छ होला नि ।