हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माविले विद्यालयका शिक्षकहरूलाई पाठ्यक्रम तथा विशिष्टीकरण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरिरहेको छ ।
“गुणस्तरीय शिक्षालाई मूल मन्त्र बनाएर अघि बढिरहेको प्रगति माविले आगामी शैक्षिक सत्रमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तालिमको आयोजना गरेको प्रगति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन गरेको यस तालिममा शिक्षकहरूलाई शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग कसरी गर्ने र केकस्ता सामग्री प्रयोग गर्ने भन्ने विषयमा तालिम प्रदान गरिएको छ । विद्यालयका कक्षा कोठाहरूलाई प्रविधियुक्त बनाउँदै गरेको प्रगति माविका कक्षा कोठाहरूमा प्रोजेक्टर जडान गरिसकिएको छ भने स्मार्ट टीभीसमेत जडान गरिएको छ ।
आगामी दिन अन्य कक्षाकोठाहरूमा पनि स्मार्ट टिभी जडान गर्ने योजना रहेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
यसैगरी सबै कक्षा र तहका पाठ्यक्रम र विशिष्टीकरण तालिकाको समेत पुनर्ताजगी तालिम प्रदान गरिएको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम र विशिष्टीकरणको पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।
प्रगति माविले आयोजना गरेको सो तालिममा हेटौँडा ९ मा रहेको अन्य सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइएको थियो । प्रगति माविले गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान चलाइरहँदा वडाका अन्य विद्यालयहरू पनि सँगसँगै हुनुपर्छ भन्ने उद्देश्यले अन्य विद्यालयलाई पनि सहभागी गराइएको अध्यक्ष प्रदीप पराजुलीले बताउनुभयो । यस तालिमले अब कक्षा कोठामा हुने शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन आउने विद्यालयका शिक्षकहरूले बताएका छन् । यस तालिमले कक्षाकोठामा नयाँ ढङ्गले प्रवेश गर्ने मानसिकताको विकास हुने बताइएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गरेर मकवानपुर जिल्लाका उत्कृष्ट विद्यालयहरूमै पर्न सफल प्रगति माविले शिक्षकलाई सूचना प्रविधि र पाठ्यक्रमसम्बन्धी मात्र नभएर शैक्षिक योजना निर्माण विषयमा पनि तालिम प्रदान गर्दै छ । शिक्षक हरेक समय र क्षण योजनावद्ध ढङ्गले अघि बढ्नुपर्छ । शिक्षण सिकाइका क्रममा पनि योजना हुनुपर्ने भएकाले योजना निर्माणसम्बन्धी तालिम प्रदान गर्न लागिएको विद्यालय प्रशासनले जनाएको छ । यसका लागि मङ्गलबार हेटौँडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सीताराम कोइरालाबाट यस सम्बन्धी प्रशिक्षण दिने बताइएको छ ।
नयाँ शैक्षिक सत्रको सुरुआतसँगै अहिले हेटौँडाका विद्यालयहरूमा शिक्षकहरूलाई पाठ्यक्रम तथा विशिष्टीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकार दिएपछि अहिले मकवानपुरका कतिपय पालिकाहरूले शिक्षकहरूलाई पाठ्यक्रमसम्बन्धी पुनर्ताजगी तालिम दिइरहेका छन् । कतिपय स्थानमा वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भइरहेको छ भने कतिपय स्थानमा विद्यालयले आफ्नै खर्चमा तालिम सञ्चालन गरिरहेका छन् ।
स्थानीय तहलाई विद्यालय तहको शिक्षाको अधिकार दिएपछि अहिले मकवानपुरका बकैया, मकवानपुरगढी, थाहालगायतका पालिकाहरूले तालिम सञ्चालन गरिरहेका छन् ।
तर हेटौँडा उपमहानगरपालिकाले भने यस विषयमा चासो नदिएको शैक्षिक सरोकारवालाहरूको गुनासो छ । सबैभन्दा धेरै विद्यालयहरू रहेका र धेरै विद्यार्थीहरूले अध्ययन गर्ने उपमहानगरपालिकाले शिक्षक र शिक्षा क्षेत्रलाई सधैँ उपेक्षाको दृष्टिले हेर्ने गरेको पाइएको छ ।
शैक्षिक सत्रको सुरुआतमा पुनर्ताजगी तालिम मात्र होइन शिक्षकलाई आवश्यक पर्ने पाठ्यक्रम तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराउने काम उपमहानगरपालिकाले गर्नुपर्ने थियो तर यस विषयमा उपमहानगरपालिकाले कुनै चासो दिएको छैन ।
यस विषयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ ले भने प्रशंसनीय काम गरेको छ । वडाध्यक्ष नवीन सिग्देलले आफ्ना वडाभित्रका विद्यालयको शैक्षिक गुणस्तरमा चासो दिनुभएको छ । उहाँले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पुनर्ताजगी तालिममात्र होइन अन्य कुरामा पनि चासो राख्नुभएको छ ।
अहिले ४ नम्बर वडा कार्यालयले वडा भित्रका विद्यालयका शिक्षकहरूलाई तालिम प्रदान गरिहेको छ । तर हेटौँडा उपमहानगरपालिकाभित्रका अन्य वडा कार्यालयहरूले भने कुनै चासो दिएका छैनन् ।
Great job Respected teachers